आफ्नालाई जोगाउन एउटामाथि सरकार केन्द्रित भयोः प्रचण्ड
सहकारी ठगी


चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत् सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने जिकिर गरे ।

आफूले प्रधानमन्त्री हुँदा रुग्ण उद्योगहरु सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने ठोकुवा गरे । अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरुलाई जोगाउँदै सवैको ठगी रवि लामिछानेले नै गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए । उनले भने, ‘तपाई हामी सबैलाई चासो हुनेलाई थाहाँ छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठुला सहकारी ठग छन् । तिनै नाटकबाजहरुलाई बचाउन सरकार केन्द्रित छ । उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ । रविलाई आफैले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको उनले बताए ।






















