अर्थ समितिमा अर्थमन्त्रीः वर्तमान आर्थिक प्रगतिसँग म सन्तुष्ट छैन्

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थ समिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताए ।

उनले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरू क्रमशः समाधान गर्दै गएको उल्लेख गरे । उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताए । उनले विदेशी मुद्राको सञ्चिति,तरलता,बैङ्कको ब्याजदर एकल अङ्कमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए ।

उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरूमा सकारात्मक अवस्था रहेको दाबी गरे । उनले सरकारले समस्याहरूका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धिहरू आर्जन गर्नुपर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताए । उनले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताए । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताए । उनले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए ।

उनले भने, ‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौँ । हाम्रो अर्थतन्त्रका केही पक्षहरू राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ । तरलताको अवस्था राम्रो छ । बैङ्कको ब्याजदर एकल अङ्कमा आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ ।

शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरूमा सकारात्मक अवस्था छ । अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन यहाँहरू पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । समस्याहरूका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धिहरू आर्जन गर्नुछ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ । राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न । तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौँ । राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौँ।

अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरे । उनले सेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए । उनले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताए । उनले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्ने गरी काम गरिरहेको बताए । उनले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताए । उनले पुँजी बजारको दिगो व्यवस्थापन र प्रवर्द्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तर्विरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताए ।