रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा

आज अदालत लगिने

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सामा बयान सकिएपछि बुधबार काठमाडौं हुँदै पोखरा लगिएको छ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनले यसबीचमा कास्की, रुपन्देही, चितवन, काठमाडौं र पर्सासहित पाँच जिल्लामा बयान दिइसकेका छन् । गितेन्द्रबाबु राई (जीबी) समेत सञ्चालक रहेका सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, सहारा सहकारी, हाम्रो सानोपाइला सहकारी र स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा रविलाई पाँच जिल्लामा घुमाएर बयान लिइएको हो ।

बुधबार कास्की पुर्‍याइएका उनलाई त्यहाँस्थित प्रहरीले हिरासतमा लैजानुअघि स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको थियो । जहाँ उनको स्वास्थ्य परीक्षण हुँदा रक्तचाप अझै बढेको देखिएको छ । कास्कीमा रक्तचाप बढेर १७०र१०० देखिएको उनका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार प्रमोद न्यौपानेले बताए ।

पर्सामा स्वास्थ्य जाँच उर्दा उनको रक्तचाप १६०र११० देखिएको थियो । तर पोखरा पुर्‍याउँदा रक्तचाप अझ बढेको पाइएपछि फिस्टेल अस्पतालका चिकित्सकले भर्ना भएर उपचारमा रहन सुझाएका थिए । तर रविले अस्पतालमा भर्ना हुन अस्वीकार गरेका छन् ।

अस्पतालका फिजिसियन डा. वसन्त ताम्राकारले लामिछानेको रक्तचाप उच्च अवस्थामा रहेको बताए । स्वास्थ्य परीक्षणबाट लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक (तल) ११० देखिएको उनले बताए । मुटुको चालमा पनि समस्या देखिएको पछि इको परीक्षण गरेर उनलाई अस्पतालमा भर्ना हुन भनिएको थियो ।

डा. ताम्राकारले रक्तचाप बढिरहेकाले यस्तो अवस्थाका व्यक्तिले भर्ना भएर निगरानीमा बस्नुपर्छ । तर रविले हिरासतमै औषधि लिएर आराम गर्ने जवाफ डा. ताम्राकारलाई दिएका छन् ।

उनलाई अस्पताल भर्ना हुन परिवारका सदस्य र सचिवालयका सदस्यले पनि भनेका थिए । तर उनले मुटु दह्रो रहेको बताउँदै हिरासतमै बस्न गएका हुन् । लामिछानेलाई चिकित्सकले औषधि दिएका छन् ।

सोमबार सानो पाइला सहकारीको हिनामिना प्रकरणमा बयानका लागि वीरगञ्ज लगिएका रविलाई सिमरा विमानस्थल हुँदै काठमाडौं ल्याएर पोखरा लगिएको हो । अब उनलाई अर्को म्याद थपका लागि बिहीबार (आज) अदालतमा उपस्थित गराउने तयारी भएको प्रेस सल्लाहकार न्यौपानेले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी श्यामबाबु ओलियाले रविलाई बिहीबार म्याद थपका लागि अदालत लगिने बताएका छन्। वीरगञ्जस्थित सरकारी वकिलको कार्यालयमा रविको करिब ४ घण्टा बयान गरिएको थियो । विभिन्न पाँचवटा सहकारीको रकम हिनामिना प्रकरणमा गत कात्तिक २ काठमाडौंबाट पक्राउ परेका उनी ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । कास्कीबाटै उनलाई विभिन्न जिल्लामा लगेर बयान लिने क्रम अब सकिएको छ ।

लामिछानेबारे अनुसन्धान सकिएपछि अब कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गर्न थालेको छ । बिहीबार म्याद थपपछि केही दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी प्रहरीले गरेको छ । प्रहरीले रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

पाँचवटा सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयान रवि अनि उनका साझेदार छविलाल जोशीको पनि बयान सकिएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने, उनका साझेदार एवमब् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल एकैसाथ कास्की प्रहरीकहाँ राखिएका छन् ।

प्रहरीले रविलाई भन्दा पहिले गत असोज ६ गते काठमाडौंबाटै पक्राउ गरेको थियो । पोखराको सूर्यदर्शन बचत सहकारीको बचत हिनामिना प्रकरणमा पुरक उजुरी परेपछि छविलाललाई सुरुमा समातिएको थियो ।

रविसहित हिरासतमा रहेकाहरुलाई सहकारी ठगीसम्बन्धी ऐनमा २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको छ । त्यससँगै संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा ९० दिन हिरासतमा राख्न पाइने कानुनी प्रावधान अनुसार उनीहरुलाई तीनै कसुरमा अनुसन्धान गरिएको हो ।

सम्पत्ति शुद्धीकरणमा प्रहरीले अभियुक्तलाई ९० दिन हिरासतमा राख्न सक्छ । त्यहीकारण रवि र छवि दुवैलाई लामो समय हिरासतमा राखिएको हो । छवि पक्राउ परेको मंगलबार ८० दिन पूरा भएको छ । अब छवि पक्राउ परेको समयअनुसार नै अबको १० दिन अर्थात् ९० दिनभित्र अनुसन्धान सकेर मुद्दा अदालत लैजानुपर्ने पोखरा प्रहरीलाई चुनौती भएको छ।