भारतीय पक्षबाट सुस्तामा नेपाली भूमि अतिक्रमण

सुस्तामा भारतले साम्राज्य फैलाउंदै

बुटवल, कार्तिक २३ । भारतले अतिक्रमण गर्दै आएको पश्चिम नवलपरासीको सुस्तामा फेरी भारतीय पक्षले अतिक्रमण शुरु गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर आफ्नो बर्चस्व जमाउंदै आएको भारतीय पक्षले केही दिन यतादेखि फेरी आफ्नो साम्राज्य फैलाउन थालेको हो ।
पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका छन् । नारायणी नदी पारीको सुस्ता गाउंपालिका ५ को सुस्तामा पटकपटक भारतीय पक्षले अतिक्रमण गर्दै आएको छ ।
सुस्तामा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्ने नौलो होइन पहिलेदेखि नै आफ्नो साम्राज्य फैलाउंदै भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएको छ । पछिल्लो पटक गत आइतबार र सोमबार भारतीय एसएसबीका जवानहरु हात हतियारसहित सुस्तामा आएर नेपाली भूमि नापजांच गरेको स्थानीयले बताएका छन् ।
बल्ल बल्ल बचाएको जग्गा भारतले खोस्ने हो कि भन्ने डर चिन्तामा रहेको सुस्तावासी जयनारायण वानियाले नयांदिशा अनलाइनलाइ बताएका छन् । नेपाली भूमि कब्जा गर्ने गरी भारतीयले बेला बेलामा हाम्रो नेपाली जमिन नापजांच गरी डर धम्कीसमेत दिने गरेको जयनारायण वानियाको भनाइ छ ।
केही समय अघिपनि भारतीय एसएसबीले सुस्ता क्षेत्रमा ड्रोनको माध्यामबाट सुस्तामा अतिक्रमणको प्रयास गरेको स्थानीयले बताए । .सुस्ता क्षेत्रमा २०६२ जेठ १७ देखि भारतीयले अतिक्रमण बढाउदै गएका हुन् । अतिक्रमण बढेपछि २०६४ सालमा दुवै देशका जिल्लास्थित सुरक्षाअधिकारीको वार्तामा १९ हजार ४ सय ८० हेक्टर जमिन कुनै पनि पक्षले जोतभोग र उपयोग नगर्ने सहमति गरिएको थियो । उक्त जमिनको सुस्तावासीसंग लालपुर्जा छ । तर भारतीय पक्षको दबाबका कारण त्यसबेलाको जिल्लास्थित सुरक्षाअधिकारीहरुले जोतभोग नगर्ने सहमति गरेका थिए । त्यही जमिनमा अहिले एसएसबीले नापजांच गरेको सुस्ता गाउंपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी गराएका छन् ।
एसएसबीले नापजांच सुरु गरेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहितको जिल्ला सुरक्षा समितिका अधिकारीहरुको टोलीले सुस्ता क्षेत्रमा पुगेर स्थलगत अनुगमन गरेको छ । सीमा सुरक्षाका लागि सुस्तामा शसस्त्र प्रहरी र नेपाल प्रहरीको पोष्ट छ । हतियारसहित आएका एसएसबीले गरेको नापजांचबारे माथिल्लो निकायमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । सुस्ता गाउं कुल ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
त्यसमध्ये १४ हजार हेक्टर जमिन भारतीयले अतिक्रमण गरिसकेको छ । ७ हजार ५ सय हेक्टर मात्रै नेपालीले भोग चलन गर्दै आएका छन् । नेपाल सरकारले सुस्ताको विवाद समाधान गर्न तत्काल पहल नगरे सुस्ताको जमिन भारतले कब्जामा लिन सक्ने छ ।
सुस्ता क्षेत्रको नेपाली भूमिको संरक्षण गरी आफ्ना नागरिकलाई न्याय दिने विषयमा सरकार झुकेको सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङले बताए ।