भ्रष्टाचारमा सबै दल लिप्त छन्ः भट्टराई


काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताएका हुन् ।

उनले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताए । भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेन्डा आफूले बोकेको बताए । उनले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए । उनले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको जिकिर गरे ।
उनले भने, ‘सबै पार्टी जसरी चरम भ्रष्टाचारमा डुबेका छन्, नेताहरु सबै कमिसन खोरीमा गाँजिएका छन् । अन्तर्राष्ट्रिय स्तरका अर्बौँ, अर्बका भ्रष्टाचार भएका छन् । त्यसैले यी ठूलाठूला नेताहरु पालैपालो सत्तामा बसेर आफ्नो भ्रष्टाचारको काण्ड लुकाउने प्रयत्नमा छन् । प्रत्येक पटक सरकार फेरिन्छ, अनि अर्कोलाई भ्रष्टाचारी भन्छ । आफ्नो लुकाउँछ । पालैपालो सबैले सबैलाई भ्रष्टाचारी भनिरहेको छ । यसको अर्थ यी सबै भ्रष्टाचारी हुन्, यिनीहरु।

यस्ता भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई निकालेर भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र त्यसले देशमा तीव्र विकास र समृद्धि ल्याउने हो । देशको मुख्य समस्या भनेको गरिबी र बेरोजगारी नै हो । त्यो हटाउन आर्थिक विकासमा केन्द्रित भएर जानुपर्छ । यो देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना मोटामोटी बनाएका छौँ । त्यसको लागि चाहिने सुशासन हो । यो भ्रष्टाचार जुन छ, जसरी पैसा खर्च गरेर भोट किनेर सत्तामा पुग्ने अनि त्यसपछि पालैपालो देशलाई लुट्ने ।
चाहे कांग्रेस भन्नुस्, एमाले भन्नुस्, माओवादी भन्नुस् । चाहे मधेसवादी दलहरू भन्नुस् । यो त पटक पटक तपाईंहरले देख्नुभएको छ । हामी त्यो दुष्चक्र रोक्न चाहन्छौँ । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउँछौँ । त्यसले सबै भ्रष्टाचारीहरुको छानबिन गरेर यिनलाई कठघरामा उभ्याउँछौँ । कसैलाई भ्रष्टाचार गर्न दिँदैनौँ ।
सङ्घीयताका अपूर्णतालाई कानूनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताए । केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् मोडलबाट जाने गरी आफूहरु अघि बढ्ने स्पष्ट पारे ।






















