नेपालका लागि संघीयता घातक होः महामन्त्री सिंह

ऋण काढेर घ्यू खाँदै सरकार

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले संघीयता नेपालको दिगो विकासको घातक र बाधक बनेको दाबी बताएका छन् । ऋण खोजेर संघीयता धान्दै गर्दा देश र जनताको स्थिती थप जटिल बन्दै जाने, समृद्धि र विकास नारामा मात्रै सिमित भएको छ ।

राष्ट्रिय जनमोर्चाले आसन्न चैतमा गर्ने संघीयता बिरुद्ध काठमाडौं केन्द्रित ७ दिने आन्दोलनको तयारी स्वरुप अर्घाखाँचीमा शनिबार सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले यस्तो बताएका हुन् । विकेन्द्रिकरणमा आधारित एकात्मक शासन व्यवस्था नै उत्तम रहेको भन्दै महामन्त्री सिंहले संघीयता खारेजीको विकल्प नभएको ठोकुवा गरे।

संघीयता नहटाए देश अझै खाडलमा फस्ने उनको धारणा थियो । जुनसुकै सरकार आएपनि दक्ष युवा जनशक्तिलाई रोक्न नसक्नुले देश रित्तो हुने भन्दै चिन्ता समेत व्यक्त गरे। संघीयताको खर्च कटौती गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्ने र रोजगारीको सिर्जना गर्नुपर्ने महामन्त्री सिंहले खाँचो औंल्याए । चिनमाथि हमला गर्न नेपाललाई युद्ध भूमि बनाउने भारत र अमेरिकाको सपना पुरा भए मुलुक युद्धको भूमरीमा फस्ने बताए ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको सरकार अमेरिका, भारत र चिनलाई खुशी पार्न बनेको आरोप लगाए । जनताको समस्याको निकास दिन र देशलाई विकास गर्न अहिलेको सरकार नबनेको आरोप लगाउँदै महासचिव भट्टले भारतले नेपाली भूमिमा डोजर चलाउँदा चुइक्क बोल्न नसक्नु त्यसैको उदाहरण भएको दाबी समेत गरे ।

जिल्लाका ६ वटै पालिकाबाट राजमोका अगुवा कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा ४ वटा टोली बनाएर समुह छलफल समेत गराइएको थियो । जसमा राजमो नेताहरु टेकबहादुर थापा, पशुपति ढकाल, बिरबहादुर कुँवर र जोगबहादुर सारुले सुझाव प्रस्तुत गरेका थिए ।