कृषिको अनुदान दुरुपयोग बारे पर्दाफास गर्छौः तिमिल्सिना

बुटवल । नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले राज्यबाट दिने कृषि अनुदान गैरकृषकले लिएको र विचौलियाको दबदबालाई चिर्न आफुहरुले छिट्टै नाम सार्वजनिक गर्ने बताएका छन् ।

उनले किसानलाई दिने अनुदान दुरुपयोग हुने प्रबृति बढ्दै गएको भन्दै विचौलिया प्रवृत्तिलाई रोक्न सरकार गम्भीर नभए महासंघले कडा कदम चेतावनी दिए । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा विहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय किसान सञ्जालका अध्यक्ष समेत रहेका तिमिल्सिनाले अनुदान लिनेहरुको रेकर्ड खोजेर आम समुदाय र पत्रकार माझ सार्वजनिक गर्ने जिकिर गरे ।

अध्यक्ष तिमिल्सिनाले किसानको हकअधिकार विरुद्ध कुनै पनि सरकारसँग पनि साँठगाठ नगर्ने ठोकुवा गर्दै जुनसुकै सरकार होस् किसानको हकअधिकारका लागि सम्झौता गर्ने तर किसानको अधिकार हनन विरुद्ध जस्तोसुकै प्रतिरोध गर्न पनि तयार रहेको बताए ।

सञ्जालको अध्यक्ष भएपछि आफूले किसानलाई धानको मुल्य, कालिमाटी तरकारी तथा फलफूल बजारकोे लथालिंग र मनोपोली, कालिमाटी बजारमा वाइसिएलको रजगज लगायतलाई आफ्नै नेतृत्वमा टेन्डर प्रक्रियामा लगेर व्यवस्थित बनाएको उल्लेख गरे ।

तिमिल्सिनाले लम्की स्किनबाट धेरै पशु चौपाया मरेकोमा पिडित किसानको लागि क्षतिपूर्ति र विमाको लागि लडेको, किसानले दुध र उखुको लाखौं रकम नपाएको अवस्थामा कडा संघर्ष गरेर दिलाएको बताए । किसान महासंघका अध्यक्ष तिमिल्सिनाले आन्दोलन र दबाबको नाममा कृषि उत्पादन सडकमा नफालेर गरिव र विपन्न परिवारलाई दिन उनले अनुरोध गर्दै बढ्दो रासायिक र विषादी प्रयोगले धेरै नागरिकहरुमा क्यान्सर जस्तो घातक रोगको संख्या बढ्दै गएकाले राज्यले समयमै जिम्मेवार भएर नियन्त्रण गर्न सुझाव दिए ।

उनले कृषिमा यान्त्रिकिरण गरेर युवा पलायनलाई रोक्न विदेशको नीति भन्दा देशको भूगोलको अवस्था अध्ययन गरेर कृषि नीति बनाएर रोक्न तर्फ सम्बन्धित मन्त्रालयले ध्यानदिनुपर्ने औंल्याए ।

डडेल्धुराबाट प्रतिनिधित्व गरेका किसान महासंघका केन्द्रीय सदस्य रमेश बहादुर रावलले विचौलियाको चेनलाई तोड्न राज्यले निर्मम भएर अगाडि बढ्नुपर्छ, कि राज्यले विचौलिया राख्ने भए उनिहरुलाई के कसरी राख्ने, किसानले उचित मुल्य पाउनुपर्ने र ग्राहकहरुको लागि सहुलियत मुल्य निर्धारण गर्ने विषयमा गम्भीरतापूर्वक नीति निर्माण गर्नुपर्ने बताए ।