मदन भण्डारी गोल्ड कपः एपिएफको जीत

बुटवल । बुटवल उपमहानगरपालिका वडा न. १० स्थित रामनगर खेल मैदानमा जारी भलिबल प्रतियोगितामा एपिएफले करिब ३ घण्टाको समय खर्चेर बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ मा पहिलो जित निकालेको छ । प्रतियोगिताको तेस्रो दिन शुक्रवार (आज) एपिएफले गल्कोट भलिबल क्लबलाई संघर्षपूर्ण खेलमा ३,२ ले पराजित गरेको हो ।

शितलहरी कारण मैदानमा हालिएको माटो गिलो भएपछि विहीबार स्थगित एपिएफ र गल्कोटबिचको खेल आज खेलिएको हो । हिजो चौथो सेटमा पुगेर खेल स्थगित भएको थियो । शुक्रवार पहिलो सेट २५,१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट २५,२२ पनि आफ्नो पक्षमा पार्न सफल भएको छ । एपिएफको स्पाइकरको जोडी सुरेन्द्र केसी र सरोज वर्देवाले टोलीलाई अन्तिम समयमा जित हात पारेका हुन् ।

तर गल्कोटका मिन सुनार, जीवन सुनार, आलोक सुनार इरानियन खेलाडी मोविन सिरीले तेस्रो र चौथो सेट जितेका थिए । गल्कोटले तेस्रो सेट २५,२२ तथा चौथो सेट ३३,३१ अंकमा जितेको थियो ।

निर्णायक अन्तिम तथा पाँचौ सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण त्यो सेट एपिएफले २०,१८ ले जितेको छ । पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी विजयी भएको थियो । एकेडेमीले आफ्नो दोस्रो खेलमा शुक्रवार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३,० को सोझो सेटमा पराजित गरेको हो ।

मदन भण्डारी स्पोटर्स एकेडेमी प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबसंग ३,१ मा पराजित भएको थियो । रुकुम भने मणिमुकुन्द भलिवल क्लबसँग ३,० को सोझो सेटमा पराजित भएको थियो । एकेडेमीले छनैट चरणको अन्तिम प्रतिस्पर्धा आइतवार मणीमुकुन्दसंग गर्नेछ । दुबै खेल गुमाएको रुकुमपश्चिमले सोमवार पुलिससँग सामना गर्ने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले बताएको छ ।

पुस २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ । शनिवार ३ वटा खेल हुनेछन् । पहिलो खेल एपिएफ र भारतको गुजरात प्रदेश भलिबल एसोसिएसन, दोस्रो खेल मणिमुकुन्द र पुलिस तथा तेस्रो खेल त्रिभुवल आर्मी क्लब र गल्कोटबिच हुने भएको छ ।