बुटवलमा आगामी पुस ५ गते औद्योगिक प्रदर्शनी हुने
विशिष्टकृतको मेला


बुटवल । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी २०८२ पुस ५ देखि १८ गतेसम्म गर्ने भएको छ । बुटवलका उद्योगी व्यवसायीका मुख्य ४ संस्थाले हरेक वर्ष आलोपालो मेला सञ्चालन गर्ने बुटवल उपमहानगरपालिका सँगको सहमति अनुसार २०८२ साल पुसमा मेला गर्न लागेको संघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

बुटवल मण्डपमा यसअघिका भन्दा फरक र विशिष्ट तरिकाले सम्पन्न गर्ने उद्देश्यका साथ तयारीका काम शुरु भएको र २५० स्टल बुक भइसकेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए । उनले मेला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकामा पुसमा मेला गत मंसिर ७ गते निवेदन दर्ता र मेलाको मिति तय भईसकेपछि २०८२ साल पुस ५ देखि १८ गते सम्म मेला सञ्चालन गर्ने जानकारी पत्र पनि उपमहानगरलाई गराइसकेको अध्यक्ष पाण्डेले बताए ।
संघका निवर्तमान अध्यक्ष गोविन्दराज गैरेले बुटवलका ४ वटा संस्थाले आलोपालो मेला सञ्चालन गर्ने नियम अनुसार २०७८ सालमा संघले चौथो मेला सफलतापूर्वक सम्पन्न गरेको र आगामी २०८२ मा पाचौ मेला गर्न लागेको बताए ।

संघका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०८२ को मेला यसअघिको भन्दा फरक र उत्कृष्ट बनाउन एकवर्ष अघि बाटै नै तयारी थालेको बताए । स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगीकरण तथा व्यापार विविधीकरणको मूल नारा सहित संघले मेलामा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने पराजुलीले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी, महासचिव यमलाल मरासिनी लगायतले बुटवलमा मेला तथा प्रदर्शनी गर्दै आएका अन्य तीन संस्था, सरोकारवाला सरकारी र गैर सरकारी निकायसँग सहकार्य गरेर मेलालाई हाल सम्मकै उत्कृष्ट बनाउने गरी तयारी थालेको बताए।






















