राज्य व्यवस्था समितिमा ९२ उजुरी


काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा ९२ वटा उजुरी परेका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सभापति रामहरी खतिवडाले ९२ वट उजुरी परेकोमा ५८ वटा उजुरीहरु दर्ता गरिएको जानकारी दिए ।

उनले बाँकी ३४ वटा उजुरीहरु अध्ययनका क्रममा रहेको जानकारी दिए । उजुरीहरुको बारेमा अध्ययन गर्नको लागि उपसमिति गठन गरेर अघि बढ्ने सभापति खतिवडाको भनाइ छ । उनले कतिपय उजुरीहरू समितिको कार्यक्षेत्रमा नपर्ने भएका कारण समितिको नियमावलीअनुसार सर्वसाधारणबाट प्राप्त उजुरीका सन्दर्भमा सुनुवाइ गर्ने बताए ।
उनले भने, ‘अहिलेसम्म ५८ वटा उजुरीहरु सचिवालयमा दर्ता भएका छन् । कतिपय बेनामेहरु, चिठीबाट आएका अन्य ३४ वटा गरी ९२ वटा उजुरीहरु समितिमा पुगेका छन् । उजुरीहरुको सम्बन्धमा के गर्ने भनेर हामीले एउटा उपसमिति बनाउँछौँ । कतिपय उजुरीहरु हाम्रो कार्यक्षेत्रभित्र पर्छन् कतिपय पर्दैनन् । हाम्रो समितिको नियमावलीमा सर्वसाधारणबाट प्राप्त उजुरीहरुको सुनुवाइ गर्ने भनेर उल्लेख गरिएको रहेछ । अब हामी यी उजुरीको बारेमा अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्छौँ ।

बैठकमा अधिकांश सांसदहरुले समितिमा प्राप्त उजुरीहरुको अध्ययन उपसमिति गठन गर्नुपर्ने धारणा राखे । उपसमितिको प्रतिवेदनको आधारमा कार्यक्षेत्रमा पर्ने उजुरीहरुमा सुनुवाइ गर्नुपर्ने बताए ।






















