संविधान संशोधन त २०८७ः केपीप्रति विश्वप्रकाशको विमति


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति विमति जनाएका छन् । बुधबार झापाको कचनकवलबाट बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखे । उनले एमाले केन्द्रीय कमिटीको बैठकमा २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्ने धारणा राखेको भन्दै असहमति जनाए ।

उनले सात बुँदे समझदारीताका संविधान संशोधन आजको आवश्यकता भएकाले यही जगमा पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेको बताए । उनले संविधान संशोधन गर्न राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र०)को सहभागिता आवश्यक रहेको भन्दै माओवादी केन्द्र बिना दुई तिहाइको गणित नपुग्ने बताए । संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा नरहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले नेकपा एमालेको बैठक हुँदै गर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु । सात बुँदे समझदारी गर्दै गर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ ।

संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाइको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।
महामन्त्री शर्माले सबै राजनीतिक दलहरुलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौँ भन्ने हक एमाले पार्टीको अध्यक्ष र कांग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरे ।






















