प्रधानन्यायाधीश जबराबिरुद्व कानुन व्यवसायी आन्दोलनमा

बुटवल, कार्तिक २८ । न्यायपालिकाको विकृति विसंगतिविरुद्ध नेपाल बार एशोसिएशनले आन्दोलन गरेको छ । दुई सातादेखि शुरु भएको आन्दोलन आइतबारदेखि देशव्यापी भएको छ । नेपाल बार एशोसिएशनले शुरुमा काठमाडौंकेन्द्रित गरेको आन्दोलन देशव्यापी गराईएको छ ।आइतबार बार एशोसिएशनका ९० एकाईमा आवद्व कानुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल बार एशोसिएशनको निर्देशनमा बार एकाईहरुले आइतबारदेखि मंगलबारसम्म तीन दिन अदालतहरुमा धर्ना दिन शुरु गरेका हुन् । रुपन्देहीको बुटवलमा रहेको उच्च अदालल बार एशोसिएशन बुटवल र रुपन्देही जिल्ला अदालत बार एशोसिएशनमा आवद्ध कानून व्यवसायीहरुले आइतबार अदालत अगाडि हातमा कालो पट्टी बाँधेर धर्ना दिएका थिए ।
उच्च अदालत बार एशोसिएशन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले न्यायपालिकाको विकृति, विसंगति अन्त्य गर्र्दै न्यायपालिकाको गरिमा कायम राख्नका लागि आन्दोलनमा उत्रनु परेको बताए । आन्दोलन रहर नभएको बताउंदै उनले भने आन्दोलन बाध्यता हो ।
बार एशोसिएशनले उठाएका मागहरु सम्बोधन नहुंदासम्म केन्द्रको निर्देशन अनुसार आन्दोलन जारी राख्ने बताउनुभयो । मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिएपछि बाटो खुल्ने बरिष्ठ अधिवक्ता बेनबहादुर पौडेलले बताए ।
गलतकाबिरुद्व देशव्यापी आन्दोलन भएकाले जबराले राजीनामा दिने र जबराको राजीनामापछि सहज रुपमा बाटो खुल्ने बताए । तर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राखेका छन् ।