आज सिद्धबाबा सुरुङमार्गको पहिलो टनेल ब्रेक थ्रु गरिने


बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म पर्ने झण्डै तीन किलोमिटर पहिरोको उच्च जोखिममा पर्ने सडकलाई मध्यनजर गरेर गराइएको सिद्धबाबा सुरुङमार्गको वारपार खन्ने काम सकिएपछि शुक्रवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गर्ने भएका छन् ।

काठमाडौंबाट मध्यान्न १२ः४५ मा इलेक्ट्रोनिक प्रविधिबाट ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको बताईएको छ । नेपाल सरकार र चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्ग बनाउने ठेक्का सम्झौता भएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको कामले तोकिएको समयसीमा अगावै सुरुङ खन्ने काम सकेको छ। एक हजार १ सय २६ मिटर लामो सुरुङमार्गमध्ये एक हजार ८९ मिटर खन्ने काम सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताए ।

सिद्धबाबा सुरुङमार्ग आयोजनाकी इन्जिनियर तथा सूचना अधिकारी सविता ज्ञवालीले २०८० पुसबाट मेसिन प्रयोगगरी खन्न शुरु गरिएको सुरुङ गत पुस महिनाभित्रै खनेर सकिएको बताइन् । उनले भनिन्, शुरुवात चरणमा पहिरो जाने, वर्षात् लगायत चुनौतिको सामाना गर्दै हामीले खन्ने काम सकेका छौं । अब अस्थायी सपोर्ट, टनेल लाइटिङ (ढलानं), विद्युतीकरण (लाइटिङ), भेन्टिलेसन, अग्नि नियन्त्रण सम्बन्धी काम, सडक ढलान (पेभमेन्ट) टनेलभित्र र बाहिर, चिडियाखोलादेखि दोभानसम्मको २ हजार ३९८ मिटर सडक कम्तीमा नालीसहित १० मिटर स्तरोन्नति र पहाडबाट खसेको ढुङ्गा वा पहिरोलाई सिधै खोलामा झार्ने रकसेड, आवश्यक अनुसार रकनेट गर्ने, आकस्मिक उद्धारको लागि हेली प्याड दक्षिण र उत्तर प्रवेशद्वार नजिक निर्माण गर्ने लगायत पाँच वर्षे सम्झौता अनुसार २०८३ साल चैत्र ८ गतेभित्र गर्नुपर्ने बाँकी काममा केन्द्रीत भएका छौं ।
२०८१ जेठ १३ गतेबाट विस्फोटक पदार्थ प्रयोग गरेर टनेलभित्र खन्ने कामलाई प्राथमिकता दिएर अगाडि बढाइएको थियो । मुख्य टनेलदेखि दोभानसम्म तीन वटा वाइपास टनेल रहेका छन् । पहिलो बाइपास टनेल १५१ मिटर, दोस्रो बाइपास टनेल १६१ मिटर र तेस्रो बाइपास टनेलको १३० मिटर लम्वाई रहेको छ । ठेक्का सम्झौता अनुसार सुरुङमार्ग निर्माणपछि पनि सोही कम्पनीले पाँच वर्षसम्म सञ्चालन र मर्मतको काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सुरुङमार्ग निर्माणपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ लगायतका नागरिकहरुले सुरक्षित यात्रा गर्न पाउने भएका छन्। हिउँदे र वर्षात्को समयमा पहिरो खस्ने, बाटो अवरुद्ध हुने र सडकमा यात्रा गरिरहेका सवारीमाथि पहिरो खस्ने जोखिमको अन्त्य हुने अपेक्षा गरिएको छ ।






















