बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास


बुटवल । बुटवल-गोरुसिङ्गे चारलेन सडक स्तरोन्नतिको शुक्रबार (आज) शिलान्यास भएको छ । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।

पहिलो चरणमा बुटवलदेखि गोरुसिङ्गेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरुसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने भएको छ । सडक शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले देशले विकासको गति लिएको बताए । प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्रै नभएर सुरुङमार्गको युगमा प्रवेश गरिसकेको बताए ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले यातायात क्षेत्र विकासको प्रमुख आधार भएकोले सरकारले सडक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढाएको बताए । उनले राजनीतिक अस्थिरताको कारण नेपालका विकास आयोजना समयमा सम्पन्न नहुने गरेको कारण राष्ट्रिय राजनीतिको आवश्यकताले वर्तमान सरकार गठन भएको बताए ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको सडक निर्माणमा कुनै पनि ढिलाइ नगरी निर्माणकार्य तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिदै बुटवल नारायणगढ सडकबाट पाठ सिकेर त्यस्तो गल्ती नदोहोर्याउने गरी निर्माण गर्न आग्रह गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि सिद्धबाबा सुरुङमार्ग र बुटवल गोरुसिङ्गे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने गरी निर्माणलार्ए जोड दिनुपर्ने औल्याए ।
बुटवलदेखि रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरुसिङ्गेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता गरिएको थियो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणको लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ ।
बुटवल गोरुसिङ्गे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग कार्यादेश लिएर निर्माणकार्यको तयारीलाई अगाडि बढाएको बताए । सडक निर्माणको लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का सम्झौता गरिएको र निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुबैतर्फबाट एकैपटक शुरुहुने आयोजनाले जनाएको छ ।
कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी गोरुसिङ्गे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ । यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । पचास किलोमिटर सडक अन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी पिपरा र वनगाई गोरुसिङ्गेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र पर्दछ । जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्ने बताईएको छ ।






















