रविले दिए सांसद पद निलम्बन फुकुवाको निवेदन


काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलिरहेकै बेलामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले आफ्नो निलम्बन फुकुवाको माग गर्दैै सभामुख देवराज घिमिरेलाई निवदेन दिएका छन् ।

आज सभामुखलाई भेट्न पुगेका लामिछानेले आफूलाई गरिएको निलम्बन कानूनसम्मत नभएको बताउँदै आजकै बैठकबाट फुकुवा गरिदिन अनुरोध गरेका थिए । लामिछानेले सभामुखलाई आग्रह गरेपछि सभामुखले लामिछानेलाई प्रश्न गर्दै भने – ‘तपाईंविरुद्ध मुद्दा चलेको होइन र ?
लामिछानेले आफूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २७ बमोजिम गरिएको निलम्बन कानूनसम्मत नभएको भन्दै सांसद पद निलम्बन फुकुवा गरिदिन सभामुखसँग माग गरेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी बचत अपचलन सम्बन्धी मुद्दासँगै सम्पत्ति शुद्धीकरण मुद्दा पनि लागेपछि पुस ८ गतेदेखि लामिछानेको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा छ।
तर लामिछानेले पोखरा, काठमाडौँ र रुपन्देही अदालतको आदेशअनुसार आफू धरौटी बुझाएर थुनामुक्त भएकोले निलम्बन फुकुवा गरिदिन माग गरेका थिए।
सूर्यदर्शन सहकारीको मुद्धामा कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी बचत अपचलन सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ र रुपन्देहीको सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा लामिछानेलाई छाड्न आदेश दिएको थियो । तीन ओटै जिल्लामा उनले आदेश अनुसारको रकम बुझाएर निस्केका छन् ।






















