बुटवलमा एचपिभी खोपको प्रष्टिकरण


बुटवल । नेपालमा महिलाहरुमा देखा पर्ने गरेको क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनुमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो प्रतिवेदनले देखाएको छ।

प्रतिवेदनले देखाए अनुसार सरकारले पाठेघरको मुखको क्यान्सरको न्यूनिकरणका लागि पहलकदमी चालेको छ । रोगलाई निवारण गर्न तर्फभन्दा लाग्नै नदिने उपायको अनुसार १० वर्षदेखि १४ वर्ष समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ ।
सरकारलाई भ्याक्सिनका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएसँगै माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म खोप लगाउने अभियान शुरु गरिने भएको छ । क्यान्सरविरुद्धको खोप कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई लगाइने बताईएको छ ।

सोही खोप अभियान नजिकिदै गरेका बेला र खोप सम्बन्धि संकुचन पैदा भइरहेका बेला बुटवलमा पाठेघरको मुखको क्यान्सर, जोखिम न्यूनीकरण तथा एचपिभी खोप सम्बन्धि अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयका छात्रा तथा विवाहित महिलाहरुलाई समावेश गराएर आयोजना गरिएको अन्तर्क्रियामा विशेषज्ञ डाक्टर र क्यान्सर न्यूनिरकणका लागि लामोसमय काम गरेका व्यक्ति र सरोकारवाला निकायहरुको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
नेपाल अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको अन्तर्क्रियामा खोप सम्बन्धि जानकारी, खोप बारे रहेका जिज्ञासाका बारेमा प्रश्नोत्तर समेत गरेर स्पष्ट पार्ने काम भएको संस्थाका सचिव प्रजापाल गिरी बताएका छन् । अन्तर्क्रियामा महिलाहरुले ४० वर्षदेखि माथिका महिलाहरुलाई अक्सर क्यान्सर देखा पर्ने भएकाले किशोरीहरुलाई मात्रै किन खोप ल्याईएको हो ? भनेर खोधिएको जिज्ञासामा डाक्टर नारायण जिसीले खोपले ८० प्रतिशत काम गर्ने दावी गर्दै भ्याक्सिनको बारेमा थप अनुसन्धान भइरहेको जनाउँदै खोप ढुक्क भएर लगाउन आग्रह गरे ।
डा. जिसीले खोपले क्यान्सर हुन नदिने काम गर्छ । यसको लागिसकेको निको पार्ने होइन् । यसले यौनसँग सम्बन्धित अंगमा हुने क्यान्सरको जोखिमबाट बचाउन मद्धत पुग्ने स्पष्ट पारे । सो अवसरमा बोल्ने वक्ताहरुले खानपान, वढ्दो विषादीयूक्त खाना जस्ताले स्वास्थ्यमा प्रत्यक्ष असर पारिहरेकाले दैनिकी र खानपानमा पनि सुधार ल्याउनुपर्ने सुझाए ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष खिम बहादुर हमाल, जनसंख्या अधिकृत उमा थापा, बुटवल उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष टंक गैरे, संस्थाका केन्द्रीय सदस्य मधुसूदन गैरे, लायन्स क्लव डिष्ट्रिक ३२५पी गभर्नर पुरुषोत्तम भक्त प्राभानांग लगायत बेल्दै रोग लाग्नुभन्दा नलाग्न दिनु नै उत्तम उपाय भएको भन्दै यो सुनौलो अवसरलाई किशोरीहरुले नगुमाउ आग्रह गर्दै ढुक्क भएर खोप लगाउन विश्वास दिलाए ।






















