बुद्धजन्मस्थल फागुनमा लुम्बिनीमा धार्मिक कार्यक्रम

बुटवल, फागुन २ गते । यही फागुनमा बुद्धजन्मस्थल लुम्बिनीमा धार्मिक कार्यक्रम आयोजना गरिदै छ । लुम्बिनीमा फागनु दोस्रो हप्तादेखि दुई ठूला कार्यक्रम हुने छन् ।

प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने तयारी छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालिन भिक्षु) हुने जानकारी गराईएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने छ । आयोजकहरुका अनुसार फागनु २१ गते उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने छ ।

त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिका सहित अल्पकालिन श्रामणेरहरुको सहभागीता हुने बताईउको छ ।
गत वर्षमा जस्तै फागुन महिनामा हुने ठूला दुई कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे ।

यसैगरी फागुन १४ गतेसम्म अल्पकालिन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ । भिक्षु तेछावरले ५ सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।