एक्स्ट्राटेक ओभलमा फ्लड लाइट


रुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीवार राति पाँच वटै फ्लड लाइटको परीक्षण भएको हो ।

स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए । अब प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने उनले बताए ।
निजी क्षेत्रले शुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको उनले बताए । विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको उनले बताए । उनले खेलकुद जगतले देशलाई चिनाउने भन्दै त्यसका लागि आफूले प्रयास गरेको पनि सुनाए ।

बनाउन शुरु गरेको डेढ वर्ष भएको बताउँदै डेढ वर्षमा कामहरु आफूले आँट गरेअनुसार सम्पन्न गरेको कुँवरको भनाइ छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको मापदण्डअनुसार आवश्यक कामहरु पूरा गरेको उनले बताए ।
उनले भीआईपी बिल्डिङ निर्माणाधीन रहेको र तेस्रो तलासम्मको ढलान सम्पन्न भइसकेको जानकारी दिए । पारापिट बनाउने काम बाँकी रहेको पनि उनले बताए ।
उनले प्रधानमन्त्री कप एक्स्ट्राटेक ओभल स्टेडियममा हुने कुराले थप खुशी भएको बताए । अबको साढे २ वर्षभित्र २५ हजार दर्शक क्षमताको पारापिटसहितको स्टेडियम तयार गर्ने प्रतिबद्धता जनाए ।






















