सैनामैनामा गोल्डकप फुटबल प्रतियोगिता

श्यामलाल पोखरेल
बुटवल । रुपन्देहीको सैनामैनामा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन १९ गतेदेखि २८ गतेसम्म गोल्डकप हुने भएको हो । मुर्गिया फुटबल क्लबको आयोजना र सैनामैना नगरपालिकाको संरक्षकमा हुने प्रतियोगिताबारे आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

१० दिनसम्म चल्ने उक्त प्रतियोगितामा १० वटा टिमले भाग लिने खेल संयोजक अशोक खड्काले जनाएका छन् । प्रतियोगितामा आयोजक मुर्गिया फुटवल क्लब, नेपाल पुसिल क्लब काठमाण्डौ, नेपाल एपीएफ एफसी काठमाण्डौ, जोंगरी सिक्किम, महाबीर क्लब काठमाण्डौ, अभिषेक चर्च रजहरु नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु ११ कपिलवस्तु, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिक युथ क्लब फर्साटिकर रुपन्देहीको टिमबीच प्रतिष्पर्दा हुने भएको छ ।

प्रतियोगिताको लागि करिव ६० लाख खर्च हुने र टिकट दर एक सय र दुई सय कायम गरिएको खेल संयोजक खड्काले बताए । प्रतियोगिताको प्रथम पुरस्कारको राशी ७ लाख र दास्रो पुरस्कारको राशी ४ लाख रहेको छ । सैनामैना रंगशालको लेख मैदानमा खेल प्रतियोगिता हुनेछ ।

रुपन्देहीको सैनामैनामा हुने यति ठूलो राशी गोल्डकप फुटबल प्रतियोगिता पहिलो हो । सैनामैना नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले सैनामैनामा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गर्नका लागि बजेटको अभाब नहुने प्रतिबद्धता जनाए । उनले ५० लाख संकलन भैसकेको र अन्य पैसा जम्मा हुने जानकारी गराए ।

यो प्रतियोगिता सम्पन्न गर्नका लागि सैनामैना नगरपालिकाले ५ लाख सहयोग गर्ने भएको छ । त्यस्तै स्थानीय संघसंस्था, व्यवसायी तथा उद्योगीबाट सहयोग रकम उठाईएको छ । सैनामैना नगरपालिकाबाहेक रुपन्देहीका अन्य स्थानीय सरकारसंग पनि सहयोगको अपेक्षा गरिएको आयोजकहरुले बताए । आयोजकहरुले विदेशमा रहेकाहरुबाट पनि आर्थिक संकलन गर्ने भएका छन् ।