रास्वपा नेता मोहन थापा हिरासतमै


काठमाडौँ । अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा हिरासतमै रहेका छन् ।

उनलाई सोमबार अदालत लगिएकामा अड्डा सार गरिएको अमेरिकाबाट सञ्चालित हुँदै आएको समाज टाइम्सले उल्लेख गरेको छ । थापालाई शुरुमा फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको थियो ।
तर सोमबार उनलाई अड्डा सार गर्दै मोशानन भ्याली आइस प्रोसेसिङ्ग सेन्टरमा लगिएको छ। रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई नेपालबाट कतार हुँदै अमेरिका जाने क्रममा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आईस) ले पक्राउ गरी हिरासतमा राखेको थियो ।

आइस प्रोसेसिङ्ग सेन्टर भनेको आप्रवासन कार्यवाही वा निर्वासनको पर्खाइमा रहेका व्यक्तिहरूलाई हिरासतमा राख्ने स्थान हो। मोशानन भ्याली आइस प्रोसेसिङ्ग सेन्टर पेन्सिल्भेनियाको फिलिप्सबर्गस्थित जियो ड्राइभमा रहेको छ। थापाको पक्राउ बारेमा विभिन्न अड्कलहरु सार्वजनिक भए पनि अहिलेसम्म उनलाई कुन अभियोग लगाइएको हो भन्ने प्रष्ट भइसकेको छैन ।
थापा नेपाल र अमेरिका दुवै ठाउँमा पटक पटक विवादमा परेका व्यक्ति हुन् । उनी अमेरिका रहँदा फर्जी कागज बनाएको, नक्कली सवारी चालक अनुमति पत्र बिक्री गरेको लगायतका आरोपमा अदालतबाट दोषी ठहर भई जेल बसेका व्यक्ति रहेकोसमेत समाज टाइम्सले लेखेको छ ।
नेपालमा रहँदा पनि उनीमाथि सहकारी ठगी मुद्धामा चार जिल्ला अदालतबाट २ करोड ७९लाख रुपैयाँमा धरौटीमा रिहा भएका पहिले अमेरिकामै बसेका रास्वापा सभापति लामिछानेको निकट रही आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको छ ।






















