प्रियासनको एघारौं उपन्यास ‘कडी’ प्रकाशनको अन्तिम चरणमा

दाङ । नेपाली साहित्यमा स्थापित नाम सविन प्रियासनको एघारौं उपन्यास ‘कडी’ छिट्टै बजारमा आउने भएको छ । यसअघि उहाँका दस उपन्यास प्रकाशित भइसकेका छन् भने एक कथा संग्रह र एक लेख संग्रहसमेत पाठकमाझ आइसकेका छन् । प्रेम, समाज, संघर्ष र यथार्थपरक कथाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्न ख्याति कमाउनुभएका प्रियासनले आफ्नो नयाँ कृतिमा पनि समसामयिक विषयलाई उठान गरेका छन् ।

प्रियासन साहित्यिक क्षेत्रका साथै पत्रकारितामा पनि उतिकै सक्रिय व्यक्ति हुन् । नेपाल पत्रकार महासंघको जिल्ला सचिव, जिल्ला अध्यक्ष हुँदै हाल महासंघको केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका उनी गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक एवं सम्पादक समेत हुन् । उनको सम्पादकीय नेतृत्वमा प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकले समसामयिक सामाजिक तथा राजनीतिक विषयवस्तुलाई प्राथमिकता दिँदै आएको छ ।

पत्रकारिता र साहित्य दुवै क्षेत्रमा योगदान दिँदै आएका प्रियासन विभिन्न सामाजिक अभियानहरुमा पनि संलग्न रहँदै आएका छन् । उनको सक्रियता केवल लेखनमा सीमित नभई सामाजिक रुपान्तरणका पक्षमा समेत केन्द्रित देखिन्छ । नयाँ उपन्यास ‘कडी’ ले विशेष गरी वैदेशिक रोजगारीका कारण सम्बन्धहरुमा आउने उतार–चढाव, समाजमा देखिने मनोवैज्ञानिक असर र प्रेम तथा पारिवारिक सम्बन्धहरुमा पार्ने प्रभावलाई उजागर गर्ने लेखक प्रियासनको विश्वास छ ।

नेपाली समाजमा बिदेसिने लहरको पृष्ठभूमिमा लेखिएको यो उपन्यास पाठकमाझ लोकप्रिय हुने प्रियासनको अपेक्षा छ । प्रियासनका अघिल्ला कृतिहरुले पाठकहरुको मन जित्न सफल भएका थिए । नयाँ उपन्यास ‘कडी’ ले पनि पाठकको मनमा विशेष स्थान बनाउन सफल हुने विश्वास सहित चैत्र महिनामै यो उपन्यास बजारमा आउने प्रियासन बताउँछन् । साहित्य लेखनमा योगदान पुर्याए वापत प्रियासन २०७७ सालमा संविधान दिवसको अबसरमा नेपाल सरकारको निर्णयमा सम्माननीय राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदकबाट विभुषित समेत भइसकेका छन् ।