मौनतामा रास्वपा


बुटवल । संघीय संसद्को पहिलो दलले आधिकारिक धारणा तय गर्ने तयारी गरिरहेको र दोस्रो र तेस्रो दलले सडकमै उत्रिने निर्णय गरे पनि चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने मौनता साँधेको छ ।

आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी दावी गर्ने रास्वपाले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिइरहेका राजावादीबारे साँधेको मौनता रहस्यमय रहेको चर्चा राजनीतकि वृत्तमा भइरहेको छ ।
पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माणलाई जोड दिँदै आएको रास्वपा सभापति रवि लामिछाने राजावादीको आन्दोलनबारे बोलेका छैनन् ।

शुक्रबारमात्रै लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको दुईतिहाइको सरकारका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए पनि राजावादीको आन्दोलनबारे केही टिप्पणी गरेनन् । आफूले बोले दुईतिहाइको सरकार हल्लिने तर्क गर्दै उनले क्रान्तिका लागि तयार रहन पनि समर्थकलाई भने । ‘गेट रेडी फर द रिभोल्युशन,’ लामिछानेले भने, ‘तपाईंहरु तयार रहनुस्, मैले चाँडै बोल्ने समय आउँदैछ ।
सभापति लामिछानेको मौनतालाई कतिपयले राजसंस्थासँग समेत जोडिरहेका छन् । हाल क्यानडा बस्दै आएका कलाकार तथा कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठले लामिछाने र आफू अमेरिका बस्दाको संस्मरण फेसबुकमा साझा गर्दै उनलाई राजसंस्थासँग जोडेका छन् ।
‘हाम्रा मित्र रवि लामिछाने अमेरिका रहिन्जेल राजावादी कित्तामै हुनुहुन्थ्यो । हामीले मकरतन्त्रको विरोधमा राष्ट्रसंघको कार्यालय र वासिंगटन डीसीमा ज्ञानेन्द्र शाहको कदम विरुद्धमा विरोध र्यालीहरुको आयोजना गर्यौँ, श्रेष्ठले लेखेका छन्, ‘रविजी प्रतिकारवाला राजावादीहरुको जत्था ‘बल्टिमोर कोटरी’का निकटस्थ हुनुहुन्थ्यो । राजाराम पौडेलले खुलेरै प्रतिकार गर्नु भयो तर रविजी खुलेर आउनु भएन ।
रास्वपाले पार्टीबाट निस्कासन गरेका महामन्त्री डा. मुकुल ढकालले पनि सभापति लामिछानेलाई राजसंस्था निकटस्थका रुपमा चित्रित गरेका छन् । ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।
रास्वपाका एक केन्द्रीय सदस्यले पार्टी नेतृत्व अहिले राजावादीको आन्दोलनलाई ‘पर्ख र हेर’को नीतिमा रहेको बताउँछन् । ती नेता राजावादीको पक्षमा जन लहर राम्रो देखिए सभापति लामिछानेले राजसंस्थाको लाइन समात्न सक्नेसमेत दावी गर्छन् ।
‘रास्वपा अहिले पर्ख र हेरको रणनीतिमा छ । माहोल राम्रै बन्दै गए राजावादी बनेर आउने लाइन रवि लामछिानेले लिन सक्छन्, ती नेताको भनाइ छ, ‘तर, राजतन्त्रको पक्षमा लाग्न हुन्न भन्ने हामीहरुको मत पनि पार्टीमा बलियो छ ।
रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको बताउँछन् । उनले खबरहबसँग भने, ‘यो व्यवस्था प्रति हाम्रो कुनै कमेन्ट छैन । व्यवस्था ठीक छ । तर, सडकमा आउने वातावरण पनि दलहरुले नै बनाएका हुन् । यसको दोषबारे गम्भीर रुपमा समीक्षा हुनुपर्छ ।






















