लुम्बिनी तेस्रो अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि अनिशलाई


भैरहवा । लुम्बिनीमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय पिस म्याराथनको उपाधि अनिश थापा मगरले हात पारेका छन् । नेपाल ओलम्पिक कमिटी र चिनियाँ दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत थापा मगर प्रथम भएका हुन् । मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ दशमलव १९ किलोमिटर पार गरे ।

थापा मगरले रु तीन लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरी नेपाली सेनामा कार्यरत सुशिलकुमार शाही दोस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरेर दुई लाख ५० हजार हात पारे ।
केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार जिते । यसैगरी महिला सहभागीलाई आधा दूरीको म्याराथन गराइएको थियो ।

हाफ म्याराथनमा पनि नेपाली धावकले वर्चस्व जमाए । यसमा २१ किमी हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितिन् । उनले उक्त दूरी एक घण्टा २० मिनेट पाँच सकेण्डमा पूरा गर्दै रु एक लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
यस्तै नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेण्डमा उक्त दूरी पार गरेर दोस्रो भइन् । उनले एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै चीनकै चेन विइले दुई घण्टा २६ समेण्डमा उक्त दूरी पार गरेर तेस्रो भई ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
म्याराथनमा पुरुषतर्फ १०औँ स्थानसम्म आउने र महिलातर्फ छैठौँ स्थानतर्फ आउनेलाई पुरस्कार दिइएको थियो । म्याराथन अन्तर्गत पाँच किलोमिटरको खुला दौड र पाँच किलोमिटरकै विद्यालयका छात्रछात्राको दौडसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा ४३० भन्दा बढी सहभागी भएका थिए ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको भनाइ छ ।






















