जनश्रमदानबाट चिनिएका जनताका प्रिय छन्, वडाध्यक्ष मल्ल

श्यामलाल पोखरेल
बुटवल, चैत १२ गते । राज्यको लगानी बिनापनि गाउंमा विकासका काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेका छन्, प्यूठान गौमुखी गाउंपालिका वडा नम्बर पांचका वडाध्यक्ष बरुणध्वज मल्लले । वडाबासीलाई जनश्रमदानसंग जोडेर काम गरेका वडाध्यक्ष मल्ल देश विदेशमासमेत चिनिएका छन् ।

वडा कार्यालयको तर्फबाट वडाबासीको साथ सहयोग लिएर वडाध्यक्ष मल्लले तीन वर्ष अघि गाउंमा जनश्रमदान अभियान सञ्चालन गरेका थिए । गौमुखी गाउंपालिका खुङका युवा राजनीतिकर्मी बरुणध्वज मल्ल २०७९ को स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित वडाध्यक्ष हुन् ।

वडाध्यक्ष बनेपछि वडावासीको घरघरमा पुगेर उनीहरुको सारोगारो बुझेर जनश्रमदान थालेका वडाध्यक्ष मल्लले गाउंमा जनश्रमदानबाट धेरै काम गरेका छन् । गाउंको विकास गर्ने तीव्र इच्छा बोकेका वडाध्यक्ष मल्लले जनश्रमदान अभियानबाट गाउंका ठूलादेखि साना गोरेटा बाटा, विद्यालय, मन्दिर, पोखरी, सार्वजनिक स्थलहरुको सरसफाई र मर्मतका थुप्रै काम गरेका छन् ।

राज्य वा सरकारको लगानी बिना उनले हरेक शनिबार बिहान वडाबासीलाई जम्मा गरेर ३, ४ घण्टा जनश्रमदान अभियान अन्तरगत निरन्तर काम गराईरहेका छन् । अहिलेसम्म उनले १ सय १५ औं पटक वडावासीको सहभागितामा जनश्रमदान गरेका छन् । जनश्रमदान नाम दिएर काम गर्न थालेका वडाध्यक्ष मल्लको नेतृत्वमा अहिलेसम्म ५ हजार जना बढीले काम गरेका छन् ।

जनश्रमदान मार्फत गाउंघरका गोरेटा बाटा खनिएको छ । स्कुल, मठमन्दिर मर्मतका साथै सरसफाई गरिएको छ । जिजु बाजेका पालामा खनिएका तर अहिले पुरिएका पोखरीहरु सरसफाई र मर्मत गरेर प्रयोगमा ल्याईएको छ । त्यस्तै खानेपानी, कुला, शौचालयहरु बनाईएको छ ।
गाउंका सानातिना विकास र सरसफाई गर्ने उद्वेश्यले शुरु गरिएको जनश्रमदानले लाखौ लाख बजेट खर्च हुने काम जनश्रमदानबाट गरिएको वडाध्यक्ष बरुणध्वज मल्ले बताए । जनश्रमदानले गाउंघरमा सरसफाई पनि भएको छ ।

सानातिना विकासका काम पनि भएका छन् । आफ्नो काम आफै गर्नुपर्छ भन्ने संस्कृतिको विकास पनि हुदै गएको बताउछन्, वडाध्यक्ष मल्ल । जनश्रमदानबाट गाउंमा केही काम भएको छ । वडाध्यक्ष मल्लको कामबाट वडावासी खुशी छन् । जनताको साथमा बजेट बिना पनि केही न केही विकास गर्न सकिन्छ भन्ने अरु जनप्रतिनिधिहरुलाई पाठ पनि सिकाएका वडाध्यक्ष मल्ल सबैको नजरमा लोकप्रीय जनप्रतिनिधि बनेका छन् ।

जनश्रमदान अभियानबाट लोकप्रीय बनेका उनले पछिल्लो हप्ता प्यूठान गौमुखी गाउंपालिका वडा नम्बर ५ को खुङ र गुल्मी मदाने गाउंपालिका अग्लुङ गाउंलाई भीरमा बाटो खनेर दुई गाउंलाई जोडेका छन् । जिल्ला फरक भएपनि भुगोल जोडिएको र नजिकैको एक गाउंबाट अर्को गाउंमा जान घण्टौ लाग्ने दुई गाउंलाई बाटो खनेर जोडिएको छ ।

अनकन्टार भीर भएकाले नजिकै देखिने र दुरीको हिसाबले पनि नजिकै रहेका गाउंमा आउजाउ गर्न सारै समस्या थियो । अहिले जनश्रमदानबाट करिब डेढ किलो मिटर बाटो खनिएपछि सहज भएको स्थानीय दिनेश न्यौपानेले बताए ।

दुई जिल्लाका दुई गाउं व्यवहार र भूगोल जोडिएपनि बीचमा भीर भएकाले एक गाउंबाट अर्को गाउंमा जान घण्टौ समय लाग्ने गर्दथ्यो । भीरबाट हिड्दा यस अघि एक जना महिलाको लडेर मृत्यु भएको थियो । बाटो खन्नु पर्ने आवश्यक थियो । सरकारले बजेट दिएको थिएन । वडाध्यक्ष बरुणध्वज मल्लले जनश्रमदान अभियान चलाएर दुवै गाउंलाई जोडेपछि सर्वसाधारण मानिस खुशी भएका छन् । लाखौ लाख राज्यको लगानी जनश्रमदानबाट जोगाईएको छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष बरुणध्वज मल्लले जनप्रतिनिधि नहुंदापनि भैलो र जनश्रमदानबाट गाउंमा काम गर्ने गरेका थिए ।

गाउंका बासिन्दा कोही बसाई सराई गरेर जाने पक्षमा नभएकाले दैनिक जीवनमा आवश्यक पर्ने गाउंका काम श्रमदानबाट पनि गर्न सकिन्छ भन्ने अठोटका साथ आफुले अभियान चलाएको बताए । जनप्रतिनिधि भनेको अस्थायी र म आफु गाउंको स्थायी भएकाले जनप्रतिनिधि नहुंदा पनि जनश्रमदान चलाउने र गाउंमा जनश्रमदान गर्नुपर्छ भन्ने संस्कृतिको विकास गर्ने वडाध्यक्ष मल्लले बताए ।