विपक्षीको बटमलाइनः लामो भन्नु छैनः प्रचण्ड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरिएका कुलमान घिसिङबारे संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनैपर्ने प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले अडान राखेका छन् । प्रधानमन्त्री ओलीले संसदमा दिएको स्पष्टीकरण चित्त बुझेन भने आन्दोलन अघि बढ्ने उनको चेतावनी छ ।

‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ’ प्रचण्डले बुधबार पत्रकारहरुसँग भने, ‘स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै हाउस चल्छ । स्पष्टीकरणमा पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ ।

प्रधानमन्त्रीसँगको भेटमा आफूले सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी० का विषयमा मात्रै छलफल गरेको तर सिंहदरबारबाट बाहिरिनासाथ ‘माओवादीले टीआरसीसँग कुलमान साट्यो’ भनेर झूठो प्रचार गरिएको प्रचण्डको गुनासो छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया उनकै शब्दमाः
लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो भने तुरुन्तै हाउस चल्छ । स्पष्टीकरणमा पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ ।

योपटक पनि बडो चिन्तित र दुस्खित पनि छु । टीआरसीका लागि भनेर पटक–पटक प्रधानमन्त्रीजीले खबर गर्नुभो । मैले ठीकै छ, टीआरसीको लागि त हामी सबैको साझा चासोको विषय हो, देशकै आवश्यकताको विषय पनि हो भनेर म गएँ ।

कुलमानजीको विषयमा हामीले पटक–पटक सार्वजनिकरुपमै भनेका थियौं । अब चार–पाँच महिनापछि उहाँको समय सिद्धिँदैछ, बीचमा बेकारमा‘ । जनमत पनि कुलमानजीको पक्षमा छ । उहाँले गरेको पनि राम्रो काम हो । उहाँलाई पुरस्कृत गर्नुपर्ने मान्छेलाई अपमानित गर्न हुँदैन भनिएकै थियो । तर, त्यो दिन म गएको समयमा यो विषयमा कसैले एक शब्द चर्चा गरेको पनि होइन । विल्कुल टीआरसीको बारेमा मात्रै कुरा भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिडेँ । त्यो भन्दा बढी कहीँ कतै कसैले एक शब्द उच्चारण गरेको पनि होइन ।

तर, म निक्लिने वित्तिकै मन्त्रिपरिषद बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एकचोटि निकै ठूलो जालझेल भएको जस्तो महसुस मलाई भयो । एक दुई दिन पर्खिए पनि हुन्थ्यो । म सिंहदरबार गएर टीआरसीबारे टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो ।

अर्को कुरा, त्यही दिन तुरुन्तै राप्रपाका ज्ञानबहादुर शाही लगायतले भने– ल प्रचण्डले टीआरसीसँग कुलमान साट्यो, यो भन्दा झुठो, यो भन्दा बेइमानीपूर्ण र आपराधिक प्रचार केही हुन सक्छ ? यो सबै देखेर म यति दुःखित भएको छु, तपाई पत्रकार साथीहरुले पनि अब त बुझिसक्नुभयो होला । सत्यको पक्षमा बोल्दिनु होला ।