प्रतिपक्षीद्धारा संसद् अवरुद्धः मुलुकलाई कानूनविहीनतामा धकेल्न खोजे-ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूले प्रतिस्थापन विधेयक पास हुन नदिनको लागि सदन अवरुद्ध पारेको बताएका छन् । बिहीबार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए ।

उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरु यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए । उनले प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनको तर्क छ । उनले विद्युत् प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरिएको समेत बताए ।

उनले भने, ‘ननइस्युलई इस्यु बनाएर संसद चल्न नदिनु । अध्यादेशहरु यो १८ गतेभित्र राष्ट्रपतिबाट हस्ताक्षर भएनन् भने त्यो असफल हुन्छ । फेरि कानूनविहिनतामा देश पस्छ । यो दुई महिनामा हामीले कानून अगाडि बढाइसकेका थियौँ । फेरि कानून विहीनतामा देश पस्छ भन्ने कुरा बुझिकन अदालतलाई दबाब दिनका लागि एउटा कर्मचारीका पक्षमा के के न अन्याय भयो भनेर झुटो प्रशंसा र झुटो गाली गर्ने काम गरियो ।

गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरियो । उनको बारेमा के गफ हुन यस्तो त उपन्यास पनि हुँदैन । प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानूनहरुबाट भ्याकुममा राख्ने काम गरिएको उनको टिप्पणी छ ।