कुलमान प्रकरणः ओलीले १८ गते संसद्‌मा जवाफ दिने

काठमाडौँ । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रवार सभामुख देवराज घिमिरेसहित बसेको प्रमुख प्रतिपक्ष, प्रतिपक्षी दल र सत्ता पक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरूले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुभएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।

सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रस्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आइतबार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताए । उनले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताए ।

उनले भने, आज हामीले एउटा निर्णय गरेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्युले मेजर अपोजिसनले माग गर्नुभयो । एउटा विषय त्यो पनि रह्यो । सँगै अन्य कतिपय विषयहरुमा पनि सम्बोधन गर्नुपर्ने आवश्यकता छ । प्रमुख प्रतिपक्षले उठाएका विषयवस्तुलाई पनि ख्याल पुर्‍याएर सम्माननीय प्रधानमन्त्रीज्युले आगामी १८ गतेको बैठकमा संसद्को आगामी १८ गतेको बैठकमा सम्बोधन गर्ने भन्ने भएको छ ।

यो विषय राख्यौँ, सत्तापक्षको तर्फबाट । प्रधानमन्त्रीले बोल्ने विषय १८ गते बोल्नुहुन्छ । आजबाट हाउस अघि बढाऔँ भनेर प्रमुख प्रतिपक्षलाई आग्रह गर्‍यौँ । राष्ट्रिय सभामा रहेका ५ वटा प्रतिस्थापन विधेयक १७ गते बेलुकासम्म निष्कर्षमा पुर्‍याउनुपर्नेछ । यी सबै कुरा आग्रह गर्‍यौँ । उहाँहरूको माग बमोजिम अघि बढ्ने भन्दा पनि आजको हाउस चलाउने र सहज ढङ्गले अघि बढ्ने कुरामा सकारात्मक परिस्थिति भएन । आइतबारबाट बैठक सहज रूपमा सञ्चालन हुनेछ ।