फेल भएका विद्यार्थीलाई पास गराउने प्रअलाई काराबाही गर्न माग

प्यूठान, चैत १६ गते । वार्षिक परीक्षामा फेल भएका विद्यार्थीलाइ पास बनाएपछि प्यूठानको गौमुखी गाउंपालिकामा विवाद उत्पन्न भएको छ । पहुंचको भरमा परीक्षामा ८ अंक ल्याउने विद्यार्थीलाई पास गराएपछि विवाद उत्पन्न भएको हो ।

गौमुखी गाउँपालिका–५ स्थित जनसहयोगी माध्यमिक विद्यालयमा पढ्ने फेल भएका विद्यार्थीलाई नम्बर बढाएर पास गराएको पुष्टी भएको छ । पेपर जाच्ने शिक्षकले दिएको नम्बर हेर्दा जनसहयोगी माध्यमिक विद्यालयका प्रधानध्यापक अमृतबहादुर केसीले आफुखुशी विदार्थीलाई नम्बर दिएर पास गराएको खुलसा भएको हो । जनसहयोगी माध्यमिक विद्यालयका प्रधानध्यापक अमृतबहादुर केसी गौमुखी गाउंपालिकाका शिक्षा समिति सदस्यसमेत रहेका प्रअ केसीले परीक्षा समितिलाई झुटो विवरण पेश गरेर आफ्नो स्कुलमा पढ्ने फेल भएका ४ जना विद्यार्थीलाई पास गराएपछि समस्या उत्पन्न भएको छ ।

फेल भएका ति विद्यार्थीको रोल नम्बर १००३ र संकेत नम्बर २४, प्राप्ताङ्क ११, त्यस्तै रोल नं. ९९० र संकेत २५, न्युनतम प्राप्ताङ्क ८, ९९८ रोल नं. र संकेत २७ रोल प्राप्ताङ्क ११ छ । त्यस्तै १८७ रोल नम्बर र संकेत २८ रहेको विद्यार्थीको प्रप्ताङ्क १२ नम्बर रहेको खुलसा गरिएको छ ।
गाउंपालिका परीक्षा समितिका सदस्यसमेत रहेका प्रअले अनाधिकृत काम गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले छानविनको माग गरेका छन् ।
प्रअले पदीय दुरुपयोग गरेर समग्र शिक्षा क्षेत्रको बदनाम गरेको भन्दै राष्ट्रिय जनमोार्चाका जनक केसी, एमालेका जुमानसिंह जीसी, माओवादी केन्द्रका रमेश रानाले छानविनको माग गर्दै गाउंपालिकाका प्रशासकीय अधिकृत तुल्सीराम पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
जनसहयोगी माविका कक्षा ५ र ८ को नजिता यही चैत ११ गते प्रकाशित नतिजा अनुसार उक्त विद्यालयका १७ जना विद्यार्थीमध्ये १५ जना पास भएका थिए ।

५० पूर्णाकंको परीक्षामा पास हुनलाई १८ अंक चाहिनेमा ८ देखि १२ अंक प्राप्त गरेका ४ जना विद्यार्थीलाई पास गराएको तर १४ अंक प्राप्त गरेको अर्को विद्यार्थीलाई फेल गराएको पुष्टी भएको बताईएको छ । परीक्षामा आठ जना मात्रै पास भएकोमा पालिकाको निर्णयअनुसार १५ अंक प्राप्त गरेका ११ जनालाई पास गराइएको थियो । सो विद्यालयको उत्तरपुस्तिका भृकुटी माविमा जाँच जर्दा आठ जना मात्रै पास भएकोसमेत तथ्य बाहिरिएको छ ।

गौमुखी गाउंपालिकाका अध्यक्ष विष्णु गिरीले कमजोरी भएको स्वीकार गर्र्दै फेल भएका विद्यार्थीलाई नम्बर थपेर पास गराउने शिक्षकलाई कारवाही हुनुपर्ने बताए ।

गाउंपालिकाका उपाध्यक्ष महावीर रानाले शिक्षा जस्तो संवेदनशील विषयमा जिम्मेवार प्रधानध्यापकले नियोजित रुपमा बदमासी गरेकाले दाोषीलाई कानुनी दायरामा ल्याएर कारवाही हुनुपर्ने र हुन्छ भने ।

वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणध्वज मल्ले कमजोरी भएको देखिएकाले छानविन गरी कारवाही गरिनु पर्ने बताए ।

यो विषयले अभिभावक र विद्यार्थीमा निरासा उत्पन्न भएकाले अनियमिततामा संलग्न प्रधानध्यापकलाई सबै प्रकोको जिम्मेवारीबाट पदमुक्त गरी वर्तमान शिक्षा ऐन तथा नियमावली अनुसार कारवाही गर्न तीन दलका नेताहरुले ज्ञापन पत्रमार्फत माग गरेका छन् । परीक्षा समितिको बैठकमा प्रधानध्यापक केसीले गल्ती स्वीकारेर परीक्षा समितिबाट राजीनामा दिएका छन् ।

फेल भएका विद्यार्थीलाई पास गराएकाृ घटना बाहिर आएपछि ति विद्यार्थीलाई पुनः मौका परीक्षामा सहभागी गराउने निर्णय भएको वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुणध्वज मल्ले जानकारी गराएका छन् ।प्रधानध्यापक अमृतबहादुर केसी कांगे्रसका जिम्मेवार सदस्य भएकाले यो विषयमा कांगे्रस मौन बसेको छ ।

प्रधानध्यापकको अनियमिताले परीक्षा प्रणाली र गौमुखी गाउँपालिकाको भूमिकामाथि नै प्रश्न चिन्ह खडा भएको छ । शिक्षा क्षेत्रमा भएको बदमासीले गौमुखीको शिक्षामाथि गम्भीर प्रकारको प्रश्न चिन्ह खडा भएकाले दोषीलाई कानुन अनुसार कारवाही गर्न स्थानीय गाउंवासीले माग गरेका छन् । प्रधानध्यापक अमृतबहादुर केसीको सामासिजक सञ्जालदेखि चौतर्फी बिरोध छ ।