रविलाई रुपन्देही ल्याइयो, सोमबारसम्म हिरासतमै राखिने

बुटवल । सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । शुक्रबार साँझ काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार बिहान हवाई मार्ग हुँदै रुपन्देही ल्याइएको हो ।

शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने भएको छ । प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा राखिने बताए । उनले भने, दुर्इ दिन सार्बजनिक बिदा भएकाले सोमबारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेश गरेर मात्रै अनि कारागार पठाउने छौँ ।

सहकारीको रकम अपचलनकै कसूरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई भैरहवा जिल्ला कारागारको बल्क नं १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं २ मा राखिएको छ ।

सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रविलाई पक्राउ गर्ने आदेश दिएको थियो । बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई रुपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल लगिएको थियो । उनलाई पहिलो फ्लाइटबाटै रुपन्देही ल्याईएको हो ।

शुक्रबार रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँको हिरासतमा रहेका लामिछानेलाई शनिबार बिहानै विमानस्थल लगिएको थियो । लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको थियो ।

उच्च अदालत तुलसीपुर, बुटबल इजलासका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएपछि पुनः पक्राउको आदेश दिइएको थियो । रविले गत सोमबार चैत १८ गते सभापतिको जिम्मेवारी लिएका थिए ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो । उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा हुने आदेश दिएको थियो । तर सोही मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।