बारमा बृहत लोकतान्त्रिक हावी


काठमाडौँ । नेपाल बार एसोसिएसनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले अग्रतालाई दोब्बर भन्दा बढी बनाएको छ ।

सो समूहले व्यावसायिक कानून व्यवसायी समूहलाई पछि पार्दै लगेको हो । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले व्यवसायिकका अध्यक्षका उम्मेदवार रमन श्रेष्ठसँगको मतान्तर दोब्बर भन्दा बढी गरेका छन् ।
मतगणनाको मंगलबारसम्मको गणनाअनुसार मिश्रले २८८२ मत ल्याउँदा श्रेष्ठले १४२५ मतमात्र ल्याएका छन् । बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अधिवक्ता राजु कैती ३६, आषिश पौडेलले २६ र अधिवक्ता उज्वल घिमिरेले १२ मत पाएका छन् ।

वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल दोब्बर मतले नै अगाडि छ । दुई भन्दा बढी उम्मेदवार भएका स्थानमा भने व्यवसायिक समूहकै मत काटिएको छ ।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेकामा ७ हजार ९९५ मत खसेको छ । सोमबारदेखि मतगणना भइरहेको हो । यो गतिले गणना हुँदै जाँदा अन्तिम परिणाम आउन अझै कम्तीमा दुई दिन लाग्नेछ । बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।






















