सरकारलाई अल्टिमेटमः नजर बन्द नखुलाए हामी सामूहिक गिरफ्तारी दिन्छौँ-गुरुङ

काठमाडौँ । राजसंस्था पुनः स्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरूलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताए ।

उनले समय सीमाभित्र सरकारले नेताहरुलाई मुक्त नगरे तीनकुनेमा मारिएका युवाहरूको रगतले लत्तिएको माटोको टिका लगाएर भद्र आन्दोलनमार्फत सामूहिक गिरफ्तारी दिने बताए । उनले आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुचि हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नभयो । उनले सशस्त्र वा हिंस्रक आन्दोलन गर्ने आफूहरूको कुनै मनसाय नभएको भद्र अवज्ञा आन्दोलनमार्फत अभियान सफल हुने दाबी गरे ।

उनले भने, आफ्नो इगो प्रोब्लेम ल्याउने होइन, यहाँ स्ट्याटस खोज्ने पनि होइन । लो प्रोफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ । हाम्रो अभियान सफल हुन्छ । तपाईँहरु हरेस नखानुस्, अहिलेको अहिल्यै र भरेको भरे नै भन्ने हुँदैन । सबै कुराको समय आउँछ । आगामी वैशाख २१ गतेसम्मको समयमा पनि अहिलेको सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकको नजर बन्द खुलाएन भने हाम्रा बन्दी बनाइएको साथीहरु मुक्त गरेन भने २२ गतेको दिनमा हामीहरूले तीनकुनेमा शहीद बनेको व्यक्तिहरुको रगतले लुटपुटिएको माटोको टिको लगाएर सामूहिक गिरफ्तारी दिने हो ।

सबैभन्दा पहिला मै हिँड्छु । म ७८ वर्षको बुढो सुगरको पेसेन्ट माटोको टिको लगाएर मै हिँड्छु तपाईँहरु को को आउनुहुन्छ, आउनुहोस् । हामी आन्दोलनमा ज्यानको माया मारेर अगाडि बढ्ने छौँ । हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुने छ । सशस्त्र आन्दोलन गर्ने भन्ने साथीहरूलाई पनि भद्र आन्दोलन गर्न भन्छौँ ।

डा. गुरुङले तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किँदैन भनेर विरोधीहरुले हल्ला चलाएको बताए । उनले अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनः स्थापना भएरै छोड्ने दाबी गरे ।