केपी ओलीको आफ्नै गृहनगरमा पार्टी संगठन कमजोर बनेपछि…


दमक । प्रधानमन्त्री एवं एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामा आफ्नो पार्टी संगठन कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले कोशी प्रदेश समितिद्वारा ओलीको गृहनगर दमकमा आयोजित बृहत जनजागरण सभालाई सम्बोधन गर्दै उनले पार्टीको संगठन खस्कँदो अवस्थामा पुग्नु दुःखद रहेको बताए ।

झापा जिल्ला नेकपा एमालेको उद्गम जिल्ला रहेको अवगत गराउँदै आफूहरुले संघर्ष गरेर संगठन बनाउँदै गर्दा आफूहरु स्ववियु गठनको नाममा गिरफ्तार भएको र जेलनेल भोगेको अवगत गराउँदै गर्दा आज त्यही ठाउँमा पार्टी कमजोर हुँदै जानु अत्यन्त दुःखदायी र चिन्ताको विषय रहेको ओलीले टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधनकै क्रममा ओलीले पार्टी संगठन खस्कदो अवस्थामा रहेको जनाउँदै आफ्ना कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ संगठनलाई पुनः सुदृढ बनाउन निर्देशन समेत दिए ।

साथै आफ्ना पार्टीका कमिटीहरुलाई चुस्त बनाउन निर्देशन दिँदै आफ्ना जनवर्गीय संगठनहरुलाई व्यवहारमा प्रभावकारी बनाउन अनुरोध समेत गरे । सम्बोधनकै क्रममा ओलीले कोशी प्रदेशलाई ‘जागरुक प्रदेश’को संज्ञा दिँदै यहाँका जनतामा राजनीतिक चेतना उच्च भए पनि त्यसको व्यवहारिक प्रतिफल नदेखिनु खेदजनक रहेको टिप्पणी गरे।






















