चैत १५ को जवाफसँगै पूर्वराजाले दिए नयाँ वर्षको सन्देश


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतामा देशको भविष्यलाई लिएर भएको जागरुकता सकारात्मक भएको बताएका छन् । उनले जुन किसिमको जागरुकता पैदा भएको छ त्यसलाई आफूले सकारात्मक रुपमा लिएको बताएका हुन् ।

नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दै उनले ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो वा नराम्रो जनगुनासो वा गुनगान सुन्ने परम्परा वा संस्कार हुन्छ’ भनेका छन् ।
चैत १५ गते भएको प्रदर्शनबाट उत्पन्न अवस्थाप्रति उनले दुःख जनाएका छन् । उनले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट त्यस प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई दुःख लागेको छ ।

उनले नयाँ वर्षको शुरुआतमा उमङ्ग हुने तर अन्त्य भने नराम्रो हुँदै आएको धेरै वर्ष भएको बताउँदै नेताहरुको गतिविधिलाई कटाक्षसमेत गरेका छन् । उनले आफ्नो धारणा र आस्था राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको जनाउँदै विचार राखेकै भरमा सरकारले यातना दिनु दुर्भाग्य भएको बताए ।
त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्ने पनि पूर्वराजाले नयाँ वर्षको शुभकामना सन्देश दिने क्रममा भिडियोमार्फत बताए ।






















