निरन्तर भूकम्पका झड्काः बिहानै हल्लियो काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच रेकटर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । कुशे गाउँपालिकाको पैंकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भएनभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

केन्द्रका अनुसार गत चैत २१ गते साँझ ८ः०७ बजे र ८ः१० बजे सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई रेक्टर स्केल र दोस्रो पाँच दशमलव पाँच रेक्टर स्केलको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

चैत २० गते दार्चुलामा चार म्यााग्निच्युडको भूकम्प गएको थियो । चैत १२ गते हुम्लाई केन्द्रविन्दु बनाएर चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रको वेबसाइटमा उल्लेख छ ।