शोकमा बुटवलः भ्रमण नै अन्तिम बन्यो सुदीपको जीवन

बुटवल । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा प्राय तनावका घटना हुने र मानवीय क्षति भइरहने गरेका हुन्छन् । पछिल्ला केही समययता त्यस्ता घटना कमै सुनिएका थिए । तर, मंगलाबर बेलुका आतंकवादीले हिन्दूधर्मालम्बीहरुलाई धर्म सोधीसोधी विभत्स हत्या गरे । उक्त घटनाले भारतमा तरंगित पैदा गर्यो भने एक नेपाली युवाको समेत हत्या भएको पुष्टि भएपछि बुटवलसहित देश नै शोकमा डुब्यो ।

बुटवल उपमहानगरपालिका–१४ बेलभरियाका २७ बर्षीय सुदीप न्यौपाने परिवारसहित भारतको जम्मू कश्मिरको पहलगाम (मिनी स्वीटजरल्याण्ड) भनेर चिनिने ठाउँमा घुम्न गएका बेला मंगलवार अकल्पनीय आतंकवादीको आक्रमणमा परी न्यौपानेको मृत्युभएपछि बुटवल शोकमा छ ।

कलेजको बिदा पारेर आमा, बहिनी र ज्वाइँसहित त्यहाँ घुम्न गएका सुदीपको दुर्भाग्य भ्रमण जीवनकै अन्तिम बन्न पुग्यो । भारतको जम्मू कश्मिरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा परी सुदीपसहित २६ जनाको मृत्यु भयो । मारिनेमध्ये २४ जना पर्यटक थिए । त्यत्तिकै सख्यामा घाइते भएका छन् । सदीपकी आमा, बहिनी र ज्वाइँ भने भागेर बाँच्न सफल भए ।

आतंकवादीले त्यहाँ घुम्न गएका पर्यटकलाई कुन धर्म मान्ने हो ? भन्दै सोधेर हिन्दू भनेजतिकालाई लक्षित गरेर गोली हानेका थिए । त्यही गोलीको नजरमा परेका सुदीप पराईको भूमिमा ढल्न पुगे ।

प्रतिबन्धित आतंकवादी समूह लश्कर–ए–तैयब (एलईटी) को शाखा मानिने द रेजिस्टेन्स फ्रन्ट ले घटना घटाएको बताईएको छ । आतंकवादी समूहले भारतको पहलगामस्थित पर्यटकीय क्षेत्रमा आक्रमण गरेको र त्यो आक्रमणमा परेर एक नेपालीको मृत्यु भएको समाचार बुधबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दुखदका शब्दहरु आइरहेका थिए । त्यसपछि ती नेपालीबारे सोधखोज शुरु भएको थियो ।

पारिवारिक स्रोतका अनुसार सुदीप आमा रिना, बहिनी सुष्मा र ज्वाइँ युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएका थिए । उनीहरु शनिबार बेलुका बुटवलबाट दिल्लीका लागि छुट्ने नेपाल–भारत मैंत्री बस सेवाको लु २ ख ६६३४ नम्बर बसमा इटाभट्टीबाट टिकट काटेर चढेका थिए ।

दिल्लीसम्म बसमा गएपछि त्यहाँबाट उनीहरु जहाजमा कश्मिर पुगेका थिए । उनीहरु पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरुले मंगलबार दिउँसो एक्कासी गोली चलाएपछि सुदीपको ज्यान गएको उनीहरुले त्यहाँबाट म्यासेन्जरमा नातेदार बुटवल उपमहानगर–१४ का वडाध्यक्ष दधिराम न्यौपानेलाई जानकारी गराएको बताइन्छ ।

सुदीपको ज्यान गएपनि आमा, बहिनी र ज्वाइँ सुरक्षित छन् । उनीहरु शव सँगै बुटवल घर आइपुगेका छन् । श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म जहाजमा र त्यहाँबाट बेलहिया नाका हुँदै सडकमार्गबाट शवलाई बुटवल ल्याइएको छ ।

सुदीपका आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि उनी बुटवल उपमहानगर–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरुको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ मा पर्दछ । सुदीपका बुवा कौशलराज न्यौपाने सामुदायिक विद्यालयका शिक्षक रहेको बुझिएको छ ।

उनीहरु २०२४ सालमै बसाइँ सरेर बुटवल आएको बेलभरिया स्थानीय बासिन्दा थानेश्वर पौडेलले बताए । घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ यतिबेला शोकमग्न भएको पौडेल बताउँछन् ।