देशलाई प्रतिगमनबाट जोगाउनु पर्छ – मोहनविक्रम

काठमाण्डौ, जेठ १० गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनमा जानबाट रोक्नु पर्ने बताएका छन् । परिवर्तन पक्षधर शक्तिहरु र आमनेपाली जनता एकताबद्ध हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाले शनिबार काठमा(डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री सिंहले प्रतिगमन वा राजतन्त्रको पुनःस्थापना जस्तो प्रयत्नलाई पराजित गर्नुपर्ने र त्यसका लागि जनताको बलमा संघषमा जानुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलको नेतृत्वका गलत कामका कारण गणतन्त्रमाथि चुनौती थपिएको बताए । अध्यक्ष केसीले गणतन्त्रलाई गणतन्त्रलाई बचाउन सत्तामा रहेका आफुलाई ठूलो दल बताउने नेताहरू सच्चिनुपर्ने तर्क गरे ।

केसीले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए । नेपालका सबै देशभक्त, लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, बुद्धिजीवी र आमजनताकोसमेत गम्भीर ध्यान जानुपर्ने बताउंदै अध्यक्ष केसीले अध्यक्ष केसीले भने – हिजो गणतन्त्र ल्याउन लडेकाहरुबाटै गाणतन्त्र खतरामा छ ।

वामपन्थी नेता नवराज सुवेदीले सत्ता र बाहिर रहेका दलहरुबीचको गहिरो खाडललाई साँघु¥याउँदै लैजानुपर्ने बताए । परिवर्तनका उपलब्धीहरु जोगाउनु सबैको दायित्व हो । त्यसका लागि एकजुट हुनुको विकल्प छैन भने ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले वर्तमान संविधानको मर्म ठीक भएको र मुलुकको राजनीति ‘तरमारा’ वर्गको इसारामा अघि बढेकाले गणतन्त्र कैदमा देखिएको बताए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वैज्ञानिक समाजवादी गणतन्त्र र समृद्धिका लागि राष्ट्रिय एकताको आवश्यकता औँल्याए ।
राजनीतिक विश्लेषक झलक सुवेदीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रगतिशील भएपनि शासकीय भूमिकामा रहेका व्यक्तिको शैली र कार्यपद्धतिका कारण मुलुकले सफलता पाउन नसकेको तर्क गरे ।

राष्ट्रिय जनमोर्चाले गणतन्त्र दिवस–२०८२ को अवसर पारेर शनिबार काठमाण्डौमा अन्तरक्रिया आयोजना गरेको हो ।