कांग्रेसकै सांसदले गृहमन्त्रीको राजीनामा माग्दा कांग्रेसमा विवाद


काठमाण्डौ, जेठ ११ गते । भिजिट भिसामा सेटिङ गरेको आरोप लागेपछि कांगे्रसका सांसदले गृहमन्त्री रमेश लेखकलाई पदबाट हटाउन पार्टी सभापति शेरबहादुर देउवासंग माग गरेका छन् । कांग्रेस सांसद राजेन्द्र बजगाईले भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पार्टी सभापति देउवालाई लिखित पत्र बुझाएका छन् ।

कांगे्रसको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरुलाई तुरुन्त बर्खास्त गर्न सांसद बजगाईले माग गरेका छन् ।सांसद बजगाईले गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गरेर पार्टीको साख जोगाउन अनुरोध गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक विवादमा तानिएका छन् । गृह मन्त्रालयले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको पाइएको छ ।

ट्राभल एजेन्सी, एयरलाइन्स, कर्मचारी, प्रहरी र बिचौलियाबीच रकम लेनदेन गरेर ‘सेटिङ’ मिलाउने गरेको प्रमाण भेटिएको अख्तियार स्रोतको भनाइ छ । गिरोहले भिजिट भिसामा युरोप जान चाहने व्यक्तिबाट तीन लाख रुपैयाँसम्म र अन्य मुलुकका लागि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म उठाउने गरेको थियो ।
यसअघि भिजिट भिसाका नाममा तस्करी मौलाएपछि पुस २०८० मा नेपाल प्रहरीले विमानस्थल अध्यागमनमा विशेष अपरेसन चलाएको थियो । त्यस क्रममा गिरोहको योजनाबमोजिम एउटा ट्राभल एजेन्सीबाट भिजिट भिसामा पठाउन लागिएका ६६ जनाको राहदानी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अध्यागमन अधिकृतहरू नरवीर खड्का, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको थियो । प्रहरीले अध्यागमन अधिकृत खड्कालाई पक्राउ गरेपछि तस्करीको जालो अझ खुलेको थियो ।
डेढ वर्षअघि मुद्दा चलाइएका अध्यागमन अधिकृत विमल पौडेल अहिले गृहमन्त्री रमेश लेखकको सचिवालयमा कार्यरत छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेर निलम्बनमा परेका तर पछि मुद्दा जितेर निलम्बन फुकुवा भएका गणेश ओझा अहिले गृह मन्त्रालयमै छन् । उनी पनि भिजिट भिसाका नाममा तस्करी प्रकरणमा अनुसन्धान घेरामा परेका छन् । उनीविरुद्धको पहिलेको भ्रष्टाचार मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ ।
अध्यागमनको अभिलेखअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा सरदर चार सय जना भिजिट भिसामा विदेश जाने गरेको सरकारी तथ्याकंले देखाएको छ। कांगे्रसकै सांसदले आफ्नै पार्टीका नेता तथा गृहमनत्रीको राजीनामा मागेपछि कांगे्रस भित्र विवाद उत्पन्न भएको छ । कांगे्रसकै सांसदले गृहमन्त्रीको राजीनामा मागेपछि सरकार ढल्ने होकी भन्ने विषयमा एमाले चिन्तित बनेको छ ।






















