शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको अपिल


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार (आज) हुने भनिएको जनप्रदर्शनलाई शान्तिपूर्ण बनाउन अपिल गरेको छ। आयोगले राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०द्वारा आज काठमाडौँमा गरिने प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कताका विषयमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूसँग बुधबार छलफल गरेको थियो।

छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र सुरक्षा प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्यमान्यतालाई आत्मसात् गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्। आयोगले प्रदर्शनको मानव अधिकारको कोणबाट अनुगमन गर्न विभिन्न टोलीहरु खटाउने पनि जनाएको छ।
अध्यक्ष मगरले आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनमा उल्लिखित प्रावधानहरूको पालनामा संवेदनशील हुन, एकअर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रदर्शनरत पक्षलाई अपिल गरेका छन्।

आयोगले जनप्रदर्शनका क्रममा सुरक्षा संवेदनशीलतामा आउन सक्ने जोखिमहरूको आकलन गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउन र मानव अधिकारका मूल्यमान्यतालाई ध्यान दिन नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको छ।
छलफलमा प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरुले प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा–व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको बताएका छन्। उनीहरूका अनुसार शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकायबीच समन्वय गरिएको छ । साथै, दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एकापसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको, सञ्चारगृहलगायतका संवेदनशील स्थलहरूको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा नागरिकको सुरक्षालाई दृष्टिगत गर्दै सुरक्षा रणनीति तयार पारिएको छ।






















