भैरहवा र पोखरा विमानस्थलः उडान सञ्चालन गर्न सहुलियत दिइने


काठमाडौं । सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणका क्रममा यो जानकारी दिए।

उनका अनुसार, वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो यात्रु चाप व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटीक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने बताए। साथै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती हुनेगरी सञ्चालनमा ल्याउन आवश्यक सुविधा उपलब्ध गराइने जानकारी पनि उनले दिए।























