भिजिट भिसा प्रकरणमा रास्वपाः गृहमन्त्रीको राजीनामामा अडिग, सरकारको जवाफ र छानबिन समिति चाहियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति नबनेसम्म आफ्नो आन्दोलन जारी राख्ने बताएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारमा बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरूसँगको छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन्। उनले जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा बिहीबार संवैधानिक दायित्व महसुस गरेर संसदमा बजेट प्रस्तुत गर्न दिएको जिकिर गरे।
परियारले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, सरकारको जवाफ र उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मुद्दाहरुमा आफूहरु अडिग रहेको बताए। उनले भने, हिजो हामीले संवैधानिक दायित्व महसुस गरेर जिम्मेवार राजनीतिक पार्टीको हिसाबमा त्यो बोध गरेर हामीले बजेट जेठ १५ गते ल्याउने संवैधानिक व्यवस्था हो, तदनुरुपको लागि हो। अन्य कुरामा रास्वपा लगायतका अन्य प्रतिपक्षी दलहरु आन्दोलनमा छौँ। हाम्रो आन्दोलनका मुद्दाहरूको सम्बोधन हुनुपर्यो। अनि मात्रै सदन अगाडि जान्छ। अनि मात्रै अरू कामहरु हुन्छ।

प्रमुख सचेतक परियारले उक्त प्रकरणसँग जोडिएका केही नयाँ सूचना तथा सन्देशहरु प्राप्त भएको बताउँदै ती विषयलाई सदनमा जानकारी गराउने समेत बताए। उनले थपे, हामीलाई पछिल्लो समय केही नयाँ सूचनाहरुरू, घटनासँग सम्बन्धित कुराहरू आएका छन्। त्यो कुराहरु पनि हामी सदनमा जानकारी गराउँछौँ। हाम्रो आन्दोलन जारी राख्छौँ। राजीनामा, जवाफ चाहियो, छानबिन समिति बन्नुपर्यो।
भिजिट भिसामा विदेश जानेहरुसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै उनको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरुले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन्।






















