मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, सघन कक्षमा उपचार हुँदै


काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार शुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्याएको थियो । ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात भएको थियो ।
उहाँ अस्पताल आइपुग्दा बोली लरबरिएको थियो भने दाहिने हर कमजोर अवस्थामा थियो, चिकित्सकका अनुसार त्यसपछि एमआरआई गरेर हेर्दा एक्युट स्ट्रोक देखिएको थियो ।

अहिले औषधि चलाएर आईसीयूमा राखेर उपचार गरिरहेका छौं, उपचारमा समंलग्न ती चिकित्सकले भने । ती चिकित्सकका अनुसार अलामले मधुमेह, उच्चरक्तचापको औषधि समेत सेवन गर्दै आइरहेका छन् ।
बम विस्फोटका घाइतेहरुलाई ज्युँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा जिल्लाबाट दोषी करार भएका नेपाली कांग्रेसका पूर्वसांसद आलमसहित चार जनालाई बुधबार उच्च अदालतको वीरगञ्ज इजलासले ज्यान मुद्दामा सफाइ दिएको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेदवार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।






















