इस्तानबुल वार्ताः युक्रेन शान्तिका लागि आवश्यक कदम चाल्न तयार

काठमाडौँ । युक्रेनले सोमबार टर्कीको इस्तानबुलमा रुससँग भएको वार्तामा शान्तिका लागि आवश्यक कदम चाल्न तयार रहेको बताएको छ। दोस्रो विश्वयुद्धपछिको युरोपमा जारी तीन वर्षे युद्धलाई कसरी अन्त्य गर्ने भन्नेबारे दुवै पक्षले योजना आदानप्रदान गरेका छन्।

रुसको आक्रमणको प्रारम्भिक हप्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आग्रहमा पहिलो पटक मस्को र किएभले प्रत्यक्ष वार्ता सुरु गरेका हुन्। यद्यपि, अहिलेसम्म कुनै महत्वपूर्ण प्रगति हुन सकेको छैन।

यो वार्ता युक्रेनले रुसी भूमिमा अहिलेसम्मकै सबैभन्दा कठिन तर सफल आक्रमण गरेको एक दिनपछि भएको हो। आइतबारको आक्रमणमा अग्रपङ्क्तिभन्दा हजारौँ किलोमिटर पछाडि रुसी एयरबेसमा राखिएका दर्जनौँ रणनीतिक बमवर्षक विमानलाई निशाना बनाइएको थियो। युक्रेनले ७ अर्ब अमेरिकी डलर बराबरका ४० रणनीतिक रुसी बमवर्षक विमानलाई क्षति पुर्‍याएको दाबी गरेको छ। यो आक्रमण किभको सुरक्षा सेवाले १८ महिना अघिदेखि नै रुसमा ड्रोनलाई भित्राउने र त्यसपछि अग्रपङ्क्तिबाट हजारौँ किलोमिटर टाढा रहेको एयरबेसनजिकैबाट प्रक्षेपण गर्ने योजना अन्तर्गत भएको बताइएको छ।

गत महिना इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा ठूलो सङ्ख्यामा कैदी आदानप्रदान भए पनि सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण गरेपछि जारी द्वन्द्वमा कुनै विराम आउन सकेको छैन।

दोस्रो चरणको वार्ता इस्तानबुलको सिरागन प्यालेसमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे सुरु भएको थियो। बोस्फोरसको किनारमा रहेको ओटोमन इम्पेरियल हाउस टर्कीमा रहेको आधुनिक सेवा सुविधा सम्पन्न पाँच तारे होटल हो।

टर्कीका विदेशमन्त्री हकान फिदानले वार्तामा मध्यस्थता गरेका थिए। रुसको तर्फबाट पुटिनका वैचारिक सहयोगी भ्लादिमिर मेदिन्स्की शीर्ष वार्ताकार रहेका छन् भने युक्रेनको टोलीको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गरेका छन्। युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरूले इस्तानबुलमा बेलायत, जर्मनी र इटालीका अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

वार्ताअघि भिल्नियसमा नेटो सदस्य राष्ट्रको शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हामी शान्तिका लागि आवश्यक कदम चाल्न तयार छौँ भनेका थिए। उनले आइतबार युद्ध तत्काल रोक्न आह्वान गर्दै दीर्घकालीन शान्तिको छलफलका लागि युद्धविराम आवश्यक पहिलो कदम भएको बताएका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत पूर्ण र बिनाशर्त युद्धविराम, कैदीहरूको रिहाई र अपहरणमा परेका बालबालिकाको घर फिर्ती वार्ताको लागि निर्विकल्प शर्त हो भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष भेटवार्ताका लागि जोड दिएका छन्। उनले ूमुख्य मुद्दाहरू नेताहरूले मात्र समाधान गर्न सक्दछन् भनी बताएका छन्।

क्रेमलिनले जेलेन्स्की र पुटिनको भेटको सम्भावनालाई बारम्बार पछाडि धकेल्दै आएको छ र रुसले युद्धका क्रममा जेलेन्स्कीको वैधतामाथि नै प्रश्न उठाउँदै उनलाई पदच्युत गर्न आह्वान गरेको छ। मस्कोले युक्रेनको सेनालाई सीमित गर्ने, देशलाई नेटोमा सामेल हुन प्रतिबन्ध लगाउने र द्वन्द्वको मूल कारण लाई सम्बोधन गर्न चाहेको बताएको छ। किएभ र पश्चिमले रुसको आक्रमणलाई साम्राज्यवादी भूमि कब्जाबाहेक अरू केही नभएको भन्दै ती आह्वानलाई अस्वीकार गरेका छन्।

हालैका महिनामा रुसी सेनाहरू विशेष गरी उत्तरपूर्वी सुमी क्षेत्रमा अघि बढिरहेका छन्, जहाँ पुटिनले आफ्ना सेनालाई सीमामा बफर जोन स्थापना गर्न आदेश दिएका थिए। युक्रेनले पहिले नै युद्धले होइन, कूटनीतिको माध्यमबाट मात्र रुसले कब्जा गरेको भूभाग फिर्ता प्राप्त गर्न सकिन्छ भन्ने स्वीकार गरेको छ। युक्रेनले नेटो सुरक्षा वा जमीनमा सैनिक र पश्चिमा समर्थित ठोस सुरक्षा प्रत्याभूतिहरू पनि चाहेको छ, जसलाई रुसले अमान्य भन्दै आएको छ।

दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा ठूलो शरणार्थी सङ्कट निम्त्याएको यस युद्धका कारण दशौँ हजार मानिसको ज्यान गइसकेको छ भने पूर्वी र दक्षिणी युक्रेनको ठूलो भूभाग ध्वस्त भएको छ, जसका कारण लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्।