देशभर आंशिक बदली, पहाडी भूभागमा वर्षाको सम्भावना


काठमाडौं । आज (मंगलबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली कायम रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहनेछ।
हाल देशको पश्चिमी र मध्य भू भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।























