वीरगञ्ज नाकाः १० महिनामा सवा पाँच खर्ब बढीको आयात, निर्यात २१० प्रतिशतले वृद्धि


वीरगञ्ज । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा वीरगञ्ज नाका हुँदै ५ खर्ब ६ अर्ब ६७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातको यो हिस्सा १२.७५ प्रतिशतले बढी हो, जुन ५७ अर्ब ३० करोड रुपैयाँले धेरै हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आर्थिक वर्षमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ। पाँच किसिमका पेट्रोलियम पदार्थ मात्र १ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ बराबरका भित्रिएका छन्।
दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रहेको छ, जसको हिस्सा ४५ अर्ब ७९ करोड रुपैयाँ छ। यसैगरी, २९ अर्ब २ करोड रुपैयाँ बराबरका मेसिनरी तथा तिनका पार्टपुर्जा, २८ अर्ब ५१ करोड रुपैयाँ बराबरका फलाम तथा फलामबाट बनेका सामान र २३ अर्ब ८५ लाख रुपैयाँ मूल्यका सबै प्रकारका एलोपेथिक औषधिहरू आयात भएका छन्।

चालु आर्थिक वर्षको १० महिनामा आयातमा मात्र नभई निर्यातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। यो अवधिमा वीरगञ्ज नाका हुँदै ७९ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको २५ अर्ब ४८ करोड रुपैयाँको तुलनामा २१०.१६ प्रतिशत अर्थात् ५३ अर्ब ५५ करोड रुपैयाँले बढी हो।
सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल अग्रस्थानमा छ। चालु आर्थिक वर्षको १० महिनामा ४६ अर्ब ५३ करोड रुपैयाँ मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल निर्यात भएको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा जम्मा ९ करोड रुपैयाँ बराबरको ४ लाख ६४ हजार ९३ लिटर मात्र निर्यात भएको थियो।
यसैगरी, ७ अर्ब २७ करोड रुपैयाँ मूल्यका ३ करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो १० करोड रुपैयाँ बराबरको ५ लाख २७ हजार २९१ लिटर मात्र थियो।






















