नदीजन्य पदार्थको अबैध उत्खनन् बन्द गर्न, समाजवादी मोर्चासहित माओवादी र एकीकृत समाजवादीको माग

विनोद खनाल
बुटवल, जेठ २० गते । पछिल्लो केही दिन यता रुपन्देहीका नदी तथा खोलाहरुबाट अबैधरुपमा नदिजन्य पदार्थको उत्खनन एवं चोरी निकासीका समाचार आएपछि मंगलबार समाजवादी मोर्चा नेपाल रुपन्देहीले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ ।

केही दिन यता बुटवल, सैनामैना, देबदह, सियारी सुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानब, चरङ्गे खोला, चरेङ्गे ठाडो खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला घोडाहाखोला, सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरुमा अनियन्त्रितरुपमा मापदण्ड बिपरित अबैधरुपमा दोहन गरी नदिजन्य पदार्थ ढुङ्गागिट्टी, बालुवा दोहन तथा चोरी निकासी भईरहेको र केहि क्रसर उद्योगमा अबैध ओसारपसार र मापदण्ड बिपरित घाटगड्डी गरेको भन्दै उक्त अबैध कार्यप्रती मोर्चाले गंभिर ध्यानाकर्षण भएको जनाएको छ ।

मोर्चाका रुपन्देही संयोजक एवं नेकपाका केन्द्रीय सदस्य सरद सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जिसी र नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हिराध्वज शाहद्बारा हस्ताक्षरित विज्ञप्तिमा सबैको मिलेमतो र सेटिङ्गमा मापदण्ड बिपरित राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा नापजाँच भन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगड्डी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम बिपरित घाटगड्डी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्यहरु तत्काल बन्द गर्न गराउन र नियमित अनुगमन, नियन्त्रण, निगरानी, नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ ।

मोर्चाले प्राकृतिक स्रोत र साधनको दोहनका लागि मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन माग गर्नुका साथै आफ्नो अनुरोधलाई बेवास्ता गरिएमा संघर्षमा जानेसमेत जानकारी गराएको छ ।