नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसारपसार रोक्न राष्ट्रिय जनमोर्चाको माग

बुटवल, जेठ २१ गते । रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन र ओसारपसार रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको समाचार आएपछि राष्ट्रिय जनमोर्चाले उक्त कार्यको बिरोध जनाएको छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर खत्रीले बुधबार विज्ञप्ती जारी गरी रुपन्देहीका विभिन्न नदी तथा खोलाहरुबाट मापदण्ड विपरित भैरहेको नदीजन्य पदार्थको उत्खनन, दोहन र चोरी निकासीका कार्यप्रति ध्यान आर्कषित भएको बताएका छन् ।विगतका वर्षहरुमा जस्तै बर्ष पनि नदीजन्य पदार्थको उत्खनन्, दोहन, नियमविपरित तोकिएको ठाँउ भन्दा अन्यत्र घाटगद्दी गर्ने वा सिधै क्रसर उद्योगमा लगि घाटगद्दी गर्ने र बिक्रिवितरणको व्यवस्था मिलाउने काम गलत भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

नदीजन्य पदार्थको अनियन्त्रित र मापदण्ड विपरित उत्खनन्ले बाडीपहिरोजन्य प्रकृतिक प्रकोप जस्तै अत्याधिक बर्षा, हुने, पहिरो जाने र मानवीय वस्तिहरु डुवानमा पर्ने सम्भावनाका कारण मानवीय र प्रायवरणीय संकट अत्याधिकवृद्वि हुने भएकाले यस्ता गलत काम तत्काल बन्द गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।
नियम विपरित घाटगद्दि गर्ने,ओसार पसार गर्ने र अवैध निकासी गर्ने कार्यलाई बन्द गर्न प्रभावकारी कदम चाल्न र उक्त अवैध धन्दामा संलग्न व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।अन्यथा त्यसबाट हुने दुस्परिणको जिम्मेवार सम्बन्धीत सरोकारवालाले लिनुपर्ने र आज भष्ट्राचार, अनियमितता, कालोबजारी स्थानीय तहसम्म फैलिएका कारण नागरिकको जनजीवन अत्यान्त कष्टकर बन्दै गैरहेको राष्ट्रिय जनमोर्चा रुपन्देहीले बताएको छ ।जनतालाई सुशासनको प्रत्याभूति दिन, हरेक क्षेत्रमा रहेको बेथिति, विसंगति, महंगी र कुशासनको अन्त्य गर्न तुरुन्त प्रभावकारी कदम चाल्न विज्ञप्तीमार्फत राष्ट्रिय जनमोर्चा रुपन्देहीले माग गरेको छ ।

नदीजन्य पदार्थको अबैध उत्खनन्को बिरोध गर्दै समाजवादी मोर्चा रुपन्देही, नेकपा माओवादी केन्द्र रुपन्देही र नेकपा एकीकृत समाजवादी रुपन्देहीले संयुक्त रुपमा विज्ञप्ती निकाली अबैध उत्खनन् तत्काल रोक्न माग गरेका थिए ।

रुपन्देहीमा केही दिन अघिदेखि नदीजन्य पदार्थको अबैध ढंगले उत्खनन् र ओसारपसार भैरहेको छ । ठेक्का सम्झौता बिपरित नदीजन्य पदार्थ उत्खनन गरेर नियम विपरित ओसारपसार गर्नुका साथै डम्पिङ गरिएको छ । नदीजन्य पदार्थ निकाल्न भएको सम्झौता र मापदण्ड विपरित काम भैरहंदा पनि स्थानीय पालिकाहरुले देखेपनि नदेखे जस्तै गरेका छन् ।रुपन्देहीको बुटवल, तिलोत्तमा, देवदह, गैडहवा, शुद्धोधन, सियारी, सैनामैना देवदह क्षेत्रमा पर्ने खोलाहरुमा नदीजन्य पदार्थ निकासी गर्न ठेक्का लगाईएको छ ।

बुटवल तिलोत्तमासंग जोडिएको तिनाउ, दानव खोला, देवदहको दाउन्ने, चरङे खोला, दाउन्ने र केउली खोलाबाट नदीजन्य धमाधम उत्खनन गरिएको छ । त्यस्तै सैनामैनाको इङ्गुरिया खोलाबाट धमाधम अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी क्रेसरहरुमा थुपार्ने काम भैरहेका छ ।
चामुण्डा, न्यू श्रृष्टि, कश्यप नमुना रोडा, कामना, जयशिव शक्ति, तिलोत्तमा, जयमा बैष्णव, एसआर रोडा ढुंगा क्रसर लगायत विभिन्न क्रसर उद्योगमा नदीजन्य पदार्थ लगेर थुपारिएको छ । नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापनका लागि गरिएको वातावरणीय असर प्रभाव मूल्यांकन भन्दा बढी उत्खनन् गरिएको छ ।

।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ गोरकट्टामा रहेको कश्यप नमुना रोडा उद्योग कारवाहीमा परेको छ । नदीजन्य पदार्थ उत्खनन्को ठेक्का पाएको ठेकदार र क्रसर उद्योग सञ्चालक मिलेर अबैध रुपमा कश्यप नमुना रोडा उद्योग प्रालिमा लगेको प्रमाण भेटिएपछि कारवाहीमा परेको हो ।