जातीय छुवाछुत गर्नेलाई कारवाही हुन्छ – तिलोत्तमा नगरप्रमुख

बुटवल, जेठ २१ गते । संविधानले जातीय छुवाछुत अन्त्य गरेको छ । संविधानले निषेध गरेको जातीय छुवाछुत गर्नेलाई कारवाही गर्ने रुपन्देही तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले कारवाही गर्ने बताएका छन् ।

उनले २१ औं सताब्धीमा जातीय छुवाछुत अपराध भएको बताउंदै संविधान विपरित छुवाछुत गर्न खोज्नेलाई स्थानीय सरकारको तर्फबामट कारवाही गर्ने प्रतिवद्वता जनाए । सबै प्रकारका विभेद विरुद्व संविधान भएको बताउंदै नगर प्रमुख खांणले भने – जातीय भेदभाव तथा छुवाछुत मान्य हदैन ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजना एवं रेडियो जागरणको समन्वयमा बुधवार आयोजना गरिएको अन्तर संवाद कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाँणले जातीय भेदभाव वा छुवाछुत भएको अवस्थामा नगरपालिकालाई जानकारी गराउन आग्रह गरेका छन् । ‘तिलोत्तमाभित्र कसैले पनि जातको आधारमा छुवाछुत गर्न नपाइने बताउंदै तिलोत्तमा नगरभित्र कुनै पनि प्रकारको भेदभाव हुन नदिने प्रतिवद्वता जनाए ।

तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवी चौधरीले जातीय भेदभावविरुद्ध समुदायस्तरमै सचेतना जगाउनु पर्ने बताइन । कानुनी रूपमा जातीय छुवाछुत अन्त्य भएपनि व्यवहारमा अन्त्य नभएकाले त्यसका विरुद्व सबैले आवाज उठाउनु पर्छ भनिन् ।
नगर उपप्रमुख चौधरीले दलित समुदायको परम्परागत सिपलाई संरक्षण र प्रवद्र्धन गर्ने र आवश्यक अनुसार सीपमूलक तालिमको व्यवस्थागर्ने बताइ ।

नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डेय, नेकपा एमाले नगर अध्यक्ष मिनप्रसाद पोखरेल, नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष रामचन्द्र भट्टराई, जनमुक्ति पार्टीका नगर उपाध्यक्ष प्रेम कनौजेले बोल्दै काुनमा जातीय छुवाछुत हटेपनि व्यवहारमा हट्न नसकेको बताउंदै जातीय छुवाछुत पूर्णरुपमा अन्त्य गर्न आफैबाट शुरु गर्नुपर्नेमा जोड दिए ।

दलित संयुक्त संघर्ष समिति रुपन्देहीका संयोजक हरि ओम विश्वकर्माले संविधानमा दलित अधिकार लेखिएपनि छुवाछुत अन्त्य हुन नसकेको बताउँदै धर्म नै प्रमुख कारण रहेको बताए ।

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एवम् सुशासन समितिका संयोजक राधा शाहीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाईएपनि व्यवहारमा विभेदबाट दलित समुदाय मुक्त हुन नसकेको गुनासो गरिन ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरीले पहिलो चरणमा आफूहरू अध्ययन अनुसन्धानमा लागेको बताउँदै नीतिगत र कार्यक्रमका हिसाबले दलित समुदायको क्षेत्रमा काम भइरहेको बताए ।

पत्रकार विनोद परियारले कार्यपत्र प्रस्तुत गर्दै सहरी क्षेत्रमा नयाँ रूपमा जातीय भेदभाव र छुवाछुत कायमै रहेको बताउंदै दलित समुदायको क्षमता विकास, सीप विकास र राष्ट्रिय स्तरमा बहसको थालनी गरेर तिलोत्तमका नगरपालिकाले राम्रो काम गरेको बताए ।

२०६३ साल जेठ २१ गते दिन छुवाछुतमुक्त राष्ट्र घोषणा भएको थियो । सोही दिनलाई २०६८ सालदेखि नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ ।
लक्ष्मी घेलेको अध्यक्षता र अम्विका परियारका सञ्चालनमा यो कार्यक्रम भएको थियो ।