माधव नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता, सांसद पद निलम्वन

बुटवल, जेठ २२ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उनीहरू विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले आज मुद्दा दर्ता गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन् ।

यससँगै नेपालको सांसद पद निलम्बन भएको छ । भ्रष्टाचार विरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।

नेपालसहितले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जनाएको छ ।

२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा पाँच सय ९३ रोपनी जग्गा खरिद गरी तीनि सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।