प्रहरी – प्रशासनको संरक्षणमा रूपन्देहीका नदी दोहन

एसपी प्रदिप क्षेत्रीद्वारा बरिष्ठ सई प्रकाश रावतलाई घुमुवाको रूपमा परिचालन

बुटवल, जेठ २३ गते । स्थानीय तहले आर्थिक वर्ष सकिनै लाग्दा खोलाहरुमा ढुङ्गागिट्टी, बालुवा उत्खननको ठेक्का लगाएका छन् । ठेक्का लगाएपछि खोला नदीहरुमा अनियन्त्रित उत्खनन् सुरु भएको छ ।

रुपन्देहीका नदीहरुमा ठेकेदारले मनपरी दोहन गरिरहेका छन् । तर, नियामक निकाय भने चुपचाप छन् । रूपन्देहीका नदी र खोलामा भएको दोहन नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयले सोझै सक्दछन् । तर प्रहरी र प्रशासनको संरक्षण मात्रै होइन मिलिमतो रहेको कारण यो दोहन रोक्न नसकिएको कुरामा सबै पक्ष जानकार नभएको होइन । तर राज्य संयन्त्र नै नभएको जस्तो गरि दिनदहाडै खुलेयाम दोहन भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी प्रदिप क्षेत्रीले बरिष्ठ सई प्रकाश रावतलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । रूपन्देहीमा लामो समयदेखि कार्यरत रहेको कारण उनले नाकाबाट तस्करी गर्ने तस्करदेखि नदी दोहन गर्ने माफियाहरू सबैलाई चिन्ने मात्रै होइन उनीहरूसंग नजिकको सम्बन्ध पनि भएको सबैलाई थाहा नभएको होइन । जिल्ला प्रहरी प्रमुखको घुमुवा कमान्डर नै आफ्नो पक्षमा रहेपछि कुन तस्कर र माफियाले आफ्नो गैरकानुनी धन्दा रोक्छ ।

तस्करीको लाइन चलाएको , तस्करहरूसंग रकम उठाएको जस्ता उजुरी परेपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय तानिएका रावत गृहमन्त्री रमेश लेखकको सोर्सफोर्समा कुनै कारबाहीमा नपरेरै फेरि रूपन्देही फर्कन सफल मात्रै भएनन् फेरि घुमुवा कमान्डर नै बन्न सफल भए । काठमाडौ प्रहरी परिसरमा सुवेदार मेजर हुंदा तत्कालीन प्रहरी निरीक्षक अनिल अधिकारी ( अवकाश ) लाई हातपात गरेको केशमा नसियतको कारबाही समेत खाएका उनलाई अहिले एसपी प्रदिप क्षेत्रीले आर्थिक अधिकार दिएर जिल्लाभर परिचालन गरेका छन् ।

अहिले जिल्लाका पालिकाहरुले नदी उत्खननका लागि ठेक्का लगाएर ठेकेदार गिटी–बालुवा उत्खनन गरिरहेका छन् । ठेकेदार दर्जनौं मेसिन प्रयोग गरेर मनपरी उत्खनन गर्ने र घाटगद्दी नगरी गिटी–बालुवा सिधैं क्रसरमा लैजाने गरेका छन् । तिनाउ नदी उत्खनन्को ठेक्का पाएका ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सीधै क्रसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योग कारवाहीमा परेको छ । जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, रुपन्देही प्रहरी प्रमुख लगायतले सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा उत्खनन्बाट ल्याइएको ढुंगागिटी ठूलो परिमाणमा भेटिएपछि अर्को निर्णय नहुँदासम्मका लागि बिक्री वितरण गर्न नपाउने गरी कारवाही गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले कतिपय स्थानमा मापदण्ड विपरीत खोला उत्खनन् भएको र पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्नेमा ढुंगागिट्टी क्रेसर उद्योगमा लैजाने गरेको पाइएको स्वीकारे । कतिपय स्थानमा मापदण्डभन्दा गहिरो गरी उत्खनन् भएको चापागाईंले बताए ।

आफूले कात्तिक–मंसिर बाटै खोलाको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन पालिकाहरुलाई आग्रह गरे पनि बेवास्ता गरेर सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा प्रभावकारी अनुगमन हुन नसकेको चापागाईंले बताए । ठेकेदारले अनुगमन टोली आउने सूचना पाएर उत्खनन् बन्द गरेका बेला अनुगमन आएको देखाएर झार टार्ने काम गरेको भन्दै त्यहाँ उपस्थित स्थानीयले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग आक्रोश पोखरेका थिए ।राजनीतिक संरक्षणमा अनुगमन समितिले आँखा चिम्लेर ठेकेदारलाई मनपरी गर्न छुट दिइएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता श्याम बराइलीको भनाइ छ ।बराइलीले भने–‘सांच्चिकै चोरी र मनपरी उत्खनन् रोक्ने हो भने सबै ठाउँमा एकै चोटी अनुगमन टोली पुग्ने गरी व्यवस्था गर्नुप¥यो, बल्ल बद्मासी फेला पार्न सकिन्छ ।’उनका अनुसार अनुगमन टोलीमा स्वतन्त्र नागरिक, प्रतिपक्षी दलका प्रतिनिधि, विज्ञ समेत सहभागी गराउँदा मात्र अनुगमन निष्पक्ष र विश्वसनीय हुन्छ ।

तिनाउ नदीमा ठेकेदारले ढुंगागिट्टी उत्खनन्सम्बन्धी राज्यले बनाएको मापदण्ड पालना गरेका छैनन् । मनपरी स्काभेटर प्रयोग गरेका छन् । एकैपल्ट टिप्परमा लोड गरी क्रसर उद्योग पु¥याएका छन् । उत्खनन् गरेपछि कुनै तोकिएको ठाउँमा घाटगद्दी गर्नुपर्नेमा घाटगद्दी गर्न ध्यान दिइएको छैन । संघीयता अघि जिल्ला विकास समितिले जिल्लाभित्रका नदी खोलाबाट ढुंगागिट्टीको उत्खनन् गर्दथ्यो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिले अनुगमन गर्दथ्यो । अहिले पालिकाहरुले ठेक्का लगाउँछन् । पालिकाले आम्दानीको स्रोत ठान्दा नदीको दोहन मनपरी भएको छ, स्थानीय तहको नेतृत्व सामु प्रहरी प्रशासन निरिह झैँ हुनुले बेथितिलाई झनै बढाएको छ ।नियमनका लागि जिल्ला र पालिकास्तरीय अनुगमन समिति चुपचाप छन् ।

स्थानीयले पालिका र प्रशासनकै मिलेमतोमा नदी दोहन भइरहेको बताएका छन् । रूपन्देही जिल्लाका प्रमुख नदीहरू रोहिणी, दानव, तिनाउ, कोइलाबास आदि हाल विभिन्न किसिमका दोहनको चपेटामा परेका छन्। ती नदीहरूबाट निर्माण सामग्री (गिट्टी, बालुवा, ढुंगा) को अत्यधिक उत्खननले प्राकृतिक स्रोत र स्थानीय समुदाय दुवै प्रभावित भएका छन्।

जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, मायादेवी, सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका क्षेत्रमा अहिले नदी उत्खनन् भइरहेको छ । तिनाउ, दानव, रोहिणी लगायतका खोलामा ठेकेदार नदीबाट गिटी–बालुवा झिकेर सिधै क्रसरमा लगिरहेका छन् । अझ लुम्बिनी विकास कोष, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल–गोरुसिंगे सडक र गौतमबुद्ध विमानस्थल जस्ता ठूला आयोजनाका नाममा भएको उत्खनन्मा झनै लापरबाही छ ।

तिनाउ नदीमा दिनहुँ सयौँ टिपर र ट्र्याक्टर दौडिरहन्छन् । नदीमा एस्काभेटरले निकालेको ढुङ्गा गिटी र बालुवा बोक्न टिपरलाई भ्याइनभ्याइ छ । बिहान उज्यालो भएदेखि रातिसम्म टिपर र ट्र्याक्टरले नदीजन्य पदार्थ बोक्ने गरेका छन् ।
समाचारको श्रोत नागरिक मिडिया मञ्च नेपाल ।