सिद्धबाबा सुरुङमार्गः तीव्र निर्माणकार्य, ५४ प्रतिशत भौतिक प्रगति


बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको फिनिसिङ र बाह्य सडक स्त्तरोन्नति गर्ने कामको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ । सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो।

अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले बताए । उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छभने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो।
प्रमुख इन्जिनियर अधिकारीले बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास ३ मा ‘इन्भर्ट’ को काम शुरु भएको बताए । बाइपास १ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको जनाए ।

‘बाइपास २ मा १६१ मिटर छ। यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन्। बाइपास ३ मा १३० मिटर छ। जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ।
भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने आयोजनाले जनाएको छ । त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने बताइएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण शुरु भएको हो।
यो आयोजन अन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ। विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।
यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन् । यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन्।






















